Logo

काँग्रेसनिकट डिएलए प्रधानन्यायाधीशको राजीनामाको विपक्षमा (विज्ञप्तिसहित)



काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसनिकट नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन डिएलए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विपक्षमा उभिएको छ । आज डिएलएले विज्ञप्तिमार्फत् जबराको राजीनामाको विपक्षमा उभ्याएको हो ।

डिएलएका अध्यक्ष योगेन्द्र बहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायिक मूल्य मान्यता र लोकतन्त्रको आधारभूत मूल्य मान्यता भन्दा बाहिर गई भए गरेका कार्य तत्काल बन्द गरी सबै प्रकारका मुद्दाहरुको सुनुवाई अविलम्ब गर्न भनेको छ । न्यायाधीशहरुले सर्वोच्चमा इजलास बहिष्कार गर्ने देखि नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको अवस्थामा डिएलएको फरक धारणा सार्वजनिक भएको हो ।

डिएलएले विज्ञप्तिमा भनेको छ,‘न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको सम्मानीत कार्य र दायित्वबाट सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु पन्छिन सर्वथा मिल्दैन । न्यायिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत मान्यता भन्दा बाहिर गई भए गरेका यस्ता कार्य तत्काल बन्दगरी सबै प्रकारका मुद्दाहरुको सुनुवाई अविलम्ब गर्न हामी आव्हान गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्