जलवायु परिवर्तनसम्बन्धी बेलायतको ग्लास्गोमा आयोजित सम्मेलनमा विश्वका शक्तिशाली देशका नेताहरु सहभागी भए । उनीहरुले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न महत्वपूर्ण घोषणाहरु गरे । तर, सम्मेलनमा विश्वका केही शक्तिशाली नेताहरु सहभागी भएनन् । त्यसमा धेरैको चासो बन्यो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी भएनन् । यसलाई अमेरिकी राष्ट्रपति जोय वाइडेनले मङ्गलबार साँझ सम्मेलनमा उठाएका थिए । जलवायु जस्तो गम्भीर विषयमा सहभागी नभएको भन्दै पुटिन र सीको आलोचना गरे ।
सी चिनफिङ र पुटिन सहभागी भएपनि चीन र रुसले आफ्ना प्रतिनिधि ग्लास्गोमा पठाएको छ । तर, बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा विश्वका १२० देशका नेताहरु सहभागी हुँदा पुटिन र सी सहभागी नहुनुलाई अर्थपूर्ण मानिएको छ ।
चीन कार्बन डाइ अक्साइड उत्सर्जन गर्ने देशमध्ये पहिलो हो । अमेरिका दोस्रो, युरोपेली युनीयन तेस्रो, भारत चौंथो र रुस पाचौं पर्दछ । यसकारण पनि जलवायु परिवर्तनसम्बन्धी मामलामा चीनबाट बढी दबाब छ । वाइडेनले चिनियाँ राष्ट्रपति सी अनुपस्थित हुनुलाई गम्भीर गल्ती भने ।
पुटिन सहभागी नहुनुलाई रुसले कारण उल्लेख गरेको छैन । तर, जलवायु परिवर्तनको विषयलाई रुसी राष्ट्रपति पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले महत्वपूर्ण भनेका छन् ।
चीनले प्रतिवर्ष ११५३५ मेगाटन कार्बन डाइ अक्साइड उत्सर्जन गर्ने गरेको ग्लोबल एटमस्फेरिक रिसर्चको तथ्यांक छ । यो अमेरिका, युरोपेली युनीयन र भारतले उत्सर्जन गर्नेभन्दा बढी हो । एक मेगाटन बराबर १० लाख टन हुन्छ । अमेरिकाले ५१०७, इयुले ३३०४ र भारतले २५९७ मेगाटन कार्बन डाइ अक्साइड उत्सर्जन गर्छ ।
यसैगरी, टर्कीका राष्ट्रपति टिप इरोगानले पनि ग्लास्गो सम्मेलनमा सहभागिता जनाएनन् । उनले सुरक्षाको कारण देखाएर बेलायत नजाने निर्णृय लिएका थिए ।-एजेन्सीको सहयोगमा




प्रतिक्रिया