Logo

बादल संयोजक बन्दा अष्टलक्ष्मी सदस्यमा सिमित



काठमाडौं, १७ कात्तिक । नेकपा एमालेको दशौं महाधिवेशनको मूल व्यवस्थापन समितिको संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल तोकिंदा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सदस्यमा सिमित पारिएको छ । आज एमालेले सार्वजनिक गरेको बादलको संयोजकत्वमा गठित समितिमा यस्तो देखिएको हो ।

समितिमा सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे छन् । बादल र पाण्डे दुवै चितवनलाई राजनीतिक क्षेत्र बनाउँदै आएका छन् । पाण्डे चितवनबाट निर्वाचित सांसद पनि हुन् । सचिवमा विष्णु रिमाल छन् ।

बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री समेत रहेकी शाक्यलाई सदस्य बनाउनु अर्थपूर्ण छ । उनी एमालेमै रहेपनि अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएकी छिन् । बादल माओवादीबाट एमालेमा पुगेका हुन् । उनी बागमती प्रदेशको इञ्चार्ज बनाइएका छन् । यसअघि अष्टलक्ष्मी शाक्य बागमतीको इञ्चार्ज थिइन् ।

यसैगरी, समितिको सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छलिवाल विश्वकर्मा, रघुवीर महासेठसहित २३ जनालाई राखिएको छ ।

एमालेले प्रतिनिधि व्यवस्थापनको जिम्मा विष्णुप्रसाद पौडेललाई दिएको छ । जनपरिचालनमा सुरेन्द्र पाण्डेलगायतका नेता छन् । प्रचारमा योगेश भट्टराई, आर्थिकमा विष्णु रिमाल, यातायातमा काशीनाथ अधिकारी, आवासमा कृष्णभक्त पोखरेल, स्वयंसेवकमा विनोद श्रेष्ठ, खाद्यमा कपिल पोखरेल र पार्वती रावल, मञ्च व्यवस्थापनमा शेरबहादुर तामाङ्ग, अतिथि सत्कारमा डा. राजन भट्टराई, सांस्कृतिकमा रघुजी पतन र देवी ज्ञवाली, स्वास्थ्यमा भानुभक्त ढकाल र कार्यालयमा कपिल पोखरेललाई जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्