Logo

न्यून दृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे



तनहुँ, १७ कात्तिक । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यून दृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। उनी सो वडाका वडा सदस्य पनि हुन् । शारीरिक रुपमा उनीअपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोस जाँगरमा कमी छैन् ।

वडा सदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रुपमा सयपत्री फूलखेतीतर्फ आर्कर्षित बनेका छन् । न्यूनदृष्टियुक्त व्यक्ति उनी आफूले सकेको काम आफै गर्ने र आफूले गर्न नसक्ने काम घरपरिवारलाई गर्न लगाउने उहाँको स्वभाव रहेको शाहीको श्रीमती गङ्गा शाहीले बताइन् ।

गतवर्ष थोरै क्षेत्रफलमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यसवर्ष अझ क्षेत्रफल बढाएर फूलखेती गरेका छन् । उनले फूलखेती थालेसँगै स्थानीयवासी थप उत्साहित हुन थालेका छन् । गत वर्ष करिब रु पैतिस हजार मूल्य बराबरको फूल बिक्री गरिएकोमा यसवर्ष कम्तीमा रु ५० हजारको बिक्री हुने लक्ष्य राखिएको उनले जानकारी दिए ।

काठमाडौँबाट अफ्रिकन सयपत्री फूलको बीउ रु चार हजारमा खरिद गरी ल्याएर उत्पादन गरेको बिरुवा करिब एक रोपनी क्षेत्रफलमा लगाएको उनले बताए। एक हजारभन्दा बढी फूलका बिरुवामा फूल फक्रिएको छ । उनले भने, “बढी वर्षाका कारण फूलका बिरुवा अग्लो भई ढलेकाले अपेक्षाअनुरुप आम्दानी लिन सकिदैन कि भन्ने लागेको छ ।” सामान्य मेहनतमै थोरै जग्गामा विभिन्न प्रजातीका फूल तथा फूलका बेर्ना उत्पादनबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । “एक रोपनी जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र”, उनले भने, “तर त्यती जग्गाबाट नसोचेको आम्दानी भएको छ ।”

फूल बिक्रीका लागि बजारको कुनै समस्या नभएको र अधिकांश मानिसले घरमै आएर फूल लैजाने आश्वसन दिएकाले बिक्रीमा समस्या नहुने देखिएको छ । छोटो समयमा कम परिश्रम र थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले आफू यस व्यवसायतर्फ आकर्षित भएको उनले बताए । बर्सेनि विदेशबाट करोडौँका फूल नेपालमा भित्रिने हुँदा व्यावसायिक रुपमा फूलखेती गरेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यसको खेतीतर्फ लागिपरेको उनको भनाइ छ ।

“फूलखेती गर्दा जग्गा जमिन मलिलो हुने, रोग कीराको आक्रमण कम हुने, विषादी प्रयोग गर्न नपर्ने हुन्छ उनले भने”, “गोडमेल, सिँचाइलगायत सजिलो काम गरे पुग्ने भएकाले आफ्नो रोजाइँको पेशा बनेको छ ।” उनी बन्दिपुर–१ रिमाल्नीमा अमृत नर्सरी स्थापना गरी फूल खेतीको साथसाथै फलफूलका बिरुवा समेत बिक्री गर्दै आएका छन्।

नर्सरीमा आँप, लिची, अम्बा, ड्रागन फ्रुट, एभोकाडोलगायतका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेको किसान शाहीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot