Logo

‘ताइवान एक्लो छैन, युरोप ताइवानको साथमा छ’



एजेन्सी, १८ कात्तिक। ताइवान भ्रमणमा पुगेको युरोपेली युनियन (ईयु)को संसदीय प्रतिनिधिमण्डलले ताइवानलाई एक्लै नरहेको भन्दै विशेष महत्त्व राख्ने सन्देश दिएको छ । चीनले ताइवानमाथिको आक्रामकता बढाएका बेला ईयुको संसदीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको हो ।प्रतिनिधिमण्डलले ईयुसँगको सम्बन्ध थप सुदृढ गर्नका लागि काम गर्न समेत ताइवानलाई आग्रह गरेको छ ।

भ्रमणका क्रममा युरोपेली संसद्का फ्रान्सेली सदस्य राफेल ग्लुक्सम्यानले ताइवानकी राष्ट्रपति साई इङ्ग वेनलाई भनेका छन्, ‘हामी यहाँ धेरै सरल, धेरै स्पष्ट सन्देश लिएर आएका छौँ : ताइवान एक्लो छैन, युरोप ताइवानको साथमा छ ।’

ताइवानकी राष्ट्रपति वेनले चिनियाँ हस्तक्षेपविरुद्ध लोकतान्त्रिक शक्तिहरू एक हुने अपेक्षा गर्दै चीनलाई चेतावनी दिएकी छन् । उनले भनेकी छन्, हामी विकृत जानकारीविरुद्ध लोकतान्त्रिक गठबन्धन स्थापना गर्ने आशा गर्दछौँ । यस्तै उनले ताइवान र ईयुको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । चीनले ताइवानलाई जसरी पनि कब्जा गर्ने चेतावनी दिँदै आएको छ भने पछिल्लो समय आफ्ना सैन्य गतिविधि बढाएको छ ।-Photo Source: New York Times



प्रतिक्रिया दिनुहोस्