Logo

नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा



भक्तपुर, १९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन्। नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाको भनाई थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पु¥याएको उहाँले चर्चा गरे ।

प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गरेका थिए । सो अवसरमा उहाँले साख्वाःको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा शङ्खधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शङ्खधर प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शङ्खधर साख्वाःको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गरे । उक्त प्रतिमा शङ्खधर चोकमा रहेको सङ्ग्रहालयमा राखिने छ ।

प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शङ्खधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, सांसद् महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठललगायतले शङ्खधर साख्वाःले देशमा पु¥याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानको देशव्यापी अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले शङ्खधरको योगदानलाई जीवन्त बनाउन प्रतिष्ठानले गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए । RSS



प्रतिक्रिया दिनुहोस्