Logo

बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी



बन्दीपुर, १९ कार्तिक । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लागेकी छिन् । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बनेकी हुन् । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उनले बताईन् । तीन वटा माउले एक पटकमा १५/१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै रु छ लाख बराबर आम्दानी लिन सकिने उनले बताईन् ।

आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उनले बताईन। बङ्गुर छ÷छ महिनामा वर्षमा दुई पटक ब्याउँछ । हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा पुगेका छन् । उनले भनिन्,“पैँतालिस दिन पुगेपछि प्रतिपाठापाठी रु छ हजार ५०० का दरले बिक्री गर्ने गरिएको छ ।” बिक्रीका लागि बजारको कुनै समस्या नभएको र मागअनुरुपको पु¥याउनसमेत नसकिएको उनले बताउनुभयो ।

अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उनले बताउनुभयो । बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि रु १५ हजार अनुदान पाएको विक बताउँछिन् । सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बतयो । बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उनीहरुले बताए । रासस



प्रतिक्रिया दिनुहोस्