डा गहेन्द्रमान उदास पोखरेली :
नेपाल प्रजापरिषद् काण्ड र जुद्धशमशेरकी नातिनी, हरिशमशेरकी छोरी इन्द्रराज्यलक्ष्मीको विवाह सम्पन्न भएदेखि नै राजा त्रिभुवन र युवराज महेन्द्रबीचको सम्बन्धमा विग्रहको प्रवेश भएको हो । नेपाल प्रजापरिषद्को प्रारम्भिक जानकारी राणा सरकारलाई दिनमा महेन्द्र र इन्द्रराज्यलक्ष्मीको क्रियाकलाप पहिलो स्रोतका रुपमा हुन गएको त्रिभुवनलाई लागेको थियो । त्यस बेलादेखि नै राजा त्रिभुवन युवराज महेन्द्रको नियत र निष्ठाप्रति आश्वस्त हुन नसकेका प्रमाणहरु भेटिन्छन् ।
कतिसम्म भने २००७ सालमा माइला राजकुमार हिमालय र कान्छा राजकुमार वसुन्धरा तथा उनीहरुका पत्नीहरुलाई राणाशाहीको विरोधमा राजदरबार परित्याग गर्ने सल्लाह र सूचना बेलामै दिए, तर जेठा छोरा महेन्द्रलाई दिएनन् । महेन्द्रले दरबार छाड्ने दिनको बिहान मात्र खबर पाए । सपरिवार भारतीय दूतावास जान निस्केपछि मात्र त्रिभुवनले उनलाई बोलाउन पठाए ।
राणा सरकारको विरुद्ध दरबार त्याग गर्ने बिहान मात्र त्रिभुवनले युवराज महेन्द्रलाई भनेका थिए, ‘लौ जेठा हामी त जान लाग्यौँ । अब हामीलाई धपाएर तिमी राज गर ।’ सुन्दरराज चालिसेका अनुसार राजाले त्यति भनेपछि महेन्द्र टोपी पनि नलगाई हस्याङफस्याङ ‘म पनि जान्छु’ भनेर त्यत्तिकै हिँडे । दूतावासमा शरण लिन पुगेपछि महेन्द्रलाई तुरुन्त दौरा सुरुवाल र कोट सिलाएर लगाउन दिइएको थियो ।
यी ऐतिहासिक प्रवाहबाहेक त्रिभुवन र महेन्द्रमा दुई कुरामा प्रमुख रुपले विरोधाभास देखिन्छ । पहिलो- त्रिभुवनको सिद्धान्त गद्दीलाई राजनीतिबाट अलग राख्ने पक्षमा देखिन्छ भने महेन्द्र पूर्णतया संलग्न राख्ने र आफैँ शासन गर्ने पक्षमा छन् । दोस्रो- अब उप्रान्त राजखानदानलाई राणाशाहीको रगत सम्बन्ध र संलग्नता नराख्ने अठोट त्रिभुवनमा देखिन्छ भने महेन्द्र त्यसको ठीक विपरीत इन्द्रराज्यलक्ष्मीलाई बिहे गरे । यसरी दुईबीचमा प्रशस्त मतभेद भए पनि लोकाचार र निजी समस्याले गर्दा यथार्थतालाई लुकाएर औपचारिकता देखाउनु भिन्नै कुरा हो ।
बेलाबखतका अभिव्यक्ति, घोषणा र परोक्ष क्रियाकलापमा पनि त्यस्तो यथार्थ लुक्न सकेको छैन । त्यसमध्ये प्रमुख अभिव्यक्ति विसं २००८ को प्रजातन्त्र दिवसको उपलक्ष्यमा त्रिभुवन र महेन्द्रले दिएका बेग्लाबेग्लै सन्देशमा स्पष्ट देखिन्छन् । करिब चार सय शब्दमा त्रिभुवनको र १२ सय शब्दमा महेन्द्रको सन्देशमा देशको स्थितिलाई एकअर्कासँग बाझिने गरी भिन्नाभिन्नै रुपमा चित्रण गरिएको छ ।
त्रिभुवनको सन्देशमा आशाजनक र उत्साहवर्धक कुरा छन् । जस्तैः पञ्चवर्षीय योजना थाल्ने, स्वतन्त्र न्यायालयको स्थापना गर्ने आदि भविष्यको योजनाका साथै एक वर्षभित्र पूरा भएका काम जस्तैः सेनाका लागि ब्यारेकको व्यवस्था, पूर्व दुई र तीन नम्बर तथा पश्चिम डोटी र दैलेखमा आकाशवाणीको स्थापना आदि उल्लेख छन् । एक वर्ष उमेर पुगेको प्रजातन्त्रको प्रगति चाहनेहरुले उत्साहवर्धक सन्देश पठाएका छन् भनेर नेपाली जनमानसमा लोकतन्त्रप्रति आस्था र शान्ति एवं सक्रियताको स्थापना गर्ने प्रयत्न गरिएको छ ।
तर महेन्द्रको सन्देश त्यसको ठीक विपरीत छ । अर्थात् जनमानसमा अस्थिरता र नैराश्य जागृत पार्ने खालको छ । औपचारिक रुपमा त्रिभुवनप्रति मर्यादा र आस्था राखेको देखावटी अभिव्यक्ति दिए पनि सम्पूर्ण सन्देश पढ्दा देशमा भाँडभैलो, स्वार्थ र अक्षमताले जर्जर भएको चित्रण गरिएको छ । एक वर्षको बालक प्रजातन्त्र जो जानेर या भूलले मृत्युशैय्यामा परिरहेछ भन्ने अभिव्यक्ति समेत त्यस सन्देशमा छ । त्यसबाट परोक्ष रुपमा त्रिभुवनको तेजोबध गर्ने प्रयत्न भएको छ ।
त्रिभुवनकै सन्देशको समानान्तर रुपमा प्रतियोगितात्मक भाव राखेर त्यही दिन त्यही अवसरलाई लिएर महेन्द्रले दिएको सन्देश यथार्थमा त्रिभुवनलाई नै हाँक दिएजस्तो देखिन्छ । महेन्द्र त्रिभुवनको विचारको विपरीत राजतन्त्रलाई सकेसम्म सक्रिय र सबल बनाउन चाहन्थे । त्रिभुवनलाई व्यक्तिगत रुपले कमजोर बनाउनु र राजसत्तालाई पूर्ववत् पुनःस्थापना गर्नु महेन्द्रको उद्देश्य रहेको देखिन्छ । उनी नेपाली जनमानसमा राजाप्रतिको परम्परागत दासत्वभावलाई मेट्न चाहँदैनथे । यही नै त्रिभुवन र महेन्द्रबीचमा मतभेदको कारण थियो ।
अर्को मतभेद- त्रिभुवन अब उप्रान्त राणाशाहीको संगत र संलग्नतामा राजपरिवारलाई राख्न चाहँदैनथे । उनको यो दृढता महेन्द्र र रत्नराज्यलक्ष्मीको विवाहको विरोध गर्नुमा पनि प्रस्टै देखिएको छ र मुखैले भनेका प्रमाण पनि उपलब्ध छन् । महेन्द्र र रत्नराज्यको विवाहको पक्षमा त्रिभुवनसँग धेरैले कुरा गर्न गएको घटना सुनिन्छन् । विवाहका लागि जोड दिई कुरा गर्न दरबारमा गएका गणेशमान सिंहसँग त्रिभुवनले भनेछन्, ‘मेरा छोराहरुसँग दुनियाँका छोरीबेटीको बिहे गराउन बरु मन्जुर छ तर राणाका छोरीबेटी मन्जुर छैन । महेन्द्रलाई मैले जति चिनेको छु, त्यति तपाईंहरुले चिन्नुभएको छैन । महेन्द्रले देश डुबाउँछ, लेखेर राख्नुस् ।’
गणेशमान सिंहका अनुसार विसं २००९ मंसिरमा महेन्द्र र रत्नराज्यको बिहे हुँदा राजा त्रिभुवन दुवै रानीसहित कोलकाता गए । राजारानी नै छोराको बिहेमा सरिक भएनन् । त्यति मात्र होइन, नारायणहिटीमा समेत बिहेका लागि अनुमति दिएनन् र नागार्जुन दरबारमा बिहे सम्पन्न भयो । बिहेको निम्तो सरदार हंसमानको हस्ताक्षर थियो भने बिहेमा खर्च गर्ने पैसा केशरशमशेरले दिएका थिए । त्रिभुवनले कुनै खर्च दिएनन्, गरेनन् ।
त्यसपछि पनि त्रिभुवन र महेन्द्रको सम्बन्ध सुध्रिएन । त्रिभुवनको गोरखा परिषद्प्रति सकारात्मक दृष्टि थिएन भने महेन्द्रको गोप्य सम्बन्ध भएको चर्चा त्यो बेला सुनिन्थ्यो । गोरखा परिषद्को जुलुसमा पनि महेन्द्रले भाग लिने गाइँगुइँ चलेको थियो । यति मात्र होइन, त्रिभुवनलाई चियामा बिष मिलाएर ख्वाउने षड्यन्त्र पनि महेन्द्रले गरेका थिए भन्ने राजपरिवारसम्बन्धी खबर भारतीय पत्रिकामा छाप्न लगाएको भनी यूपीआईका नेपालस्थित संवाददाता मदनगोपाल गुप्तालाई देशनिकाला गरेको हल्लासमेत चलेको थियो । यसबारे गणेशमानले २०४८ मा पंक्तिकारलाई सुनाएका थिए ।
विसं २००८ डा केआई सिंहको नेतृत्वमा रक्षा दलले सिंहदरबारमा गरेको सशस्त्र कब्जामा महेन्द्रका ससुरा हरिशमशेरको गोप्य हात भएको व्यापक चर्चा भएको थियो । उनले महेन्द्रको पक्षमा विद्रोह गर्ने र गराउने भूमिका खेल्न खोजेको बीपी कोइरालाले समेत बताएका छन् ।
यसरी राजा त्रिभुवनले पनि मौका पाएमा वा कतैबाट विरोध नभएमा कान्छा छोरा वसुन्धरालाई गद्दीमा राख्न चाहेको बुझिन्थ्यो । कतिसम्म भने महेन्द्रले रत्नराज्यलाई बिहे गर्न नपाए राजगद्दीको हकदारबाट राजीनामा दिन्छु भन्ने घुर्की देखाउँदा पनि त्रिभुवनले वास्ता गरेनन् । बीपी कोइरालाले युवराज महेन्द्रको राजीनामा आफैँले च्यातेको उल्लेख गरेका छन् । त्यसबेला दरबारमा हुँदा हुँदा त्रिभुवनपट्टि वसुन्धरा र महेन्द्रपट्टि हिमालय (माइला छोरा) लागेको खुलासा मातृकाप्रसाद कोइरालाले गरेका छन् ।




प्रतिक्रिया