Logo

चुनावमा काँग्रेस एक्लै जानुपर्छ, गठबन्धन गर्नुहुँदैन् : डा. शेखर कोइराला



प्रमुख सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । उनल आफूले सुरुदेखि नै यही भन्दै आएको पनि स्पष्ट पारेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोईरालाले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘हो, म सुरुदेखिनै भनिरहेको छु । कतैकतै गर्ने कुरा आफ्नो ठाँउमा होला तर, नेपाली काँग्रेस एक्लै जानुपर्छ । उहाँले प्रधानमन्त्रीको हैसियतमा बोल्नुभएको होला तर, सभापतिको हैसियतमा बोल्न पाउनुहुँदैन् । नेपाली काँग्रेसभित्र छलफल पनि भएको छैन्, अनि कुन हैसियतमा उहाँ बोल्दै हुनुहुन्छ ?’ प्रस्तुत छ नेता कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डबाट फर्किईसकेपछि एउटा खुलासा गर्नुभएको छ–एमसीसी अनुमोदनको लागि प्रचण्ड र मैले पत्र पठाइसकेका छौं । यस विषयमा तपाईंको दृष्टिकोण के छ ?

नेपाली काँग्रेसको कुरा गर्नुपर्दा त यस पार्टीले पहिलेदेखि नै एमसीसी पास गर्नुपर्छ भनेर भनिरहेको छ यसमा कुनै शंका नै छैन् । तर, पहिलो कुरा प्रधानमन्त्रीज्युले यो कुरा स्कटल्याण्ड जानेभन्दा पहिले नै भनेको भए हुन्थ्यो, किन फर्किएपछि मात्र भन्नुभयो ? दोस्रो कुरा, यो संसद्बाट पारित गर्नुपर्ने हुन्छ । तर, संसद् बन्द छ अनि चिठ्ठी लेखेरमात्रै त पास हुने होइन होला ? यसलाई धेरै विवाद बनाउनुभन्दा राजनीतिक दलहरुसँग छिट्टै छलफल गर्नु उपयुक्त हुन्छ । अर्को कुरा, जुनदिन प्रधानमन्त्रीज्यू स्कटल्याण्ड पुग्नुभयो । त्यही दिन एमसीसीको एउटा विज्ञप्ती आएको छ । त्यो पनि तपार्इंहरुले पढ्नुभयो होला । त्यसमा पनि संसद्बाट छिटोभन्दा छिटो पास गर्नुपर्छ भनेर लेखिएको छ । मैले किन यो कुराहरु भन्दैछु भने एमसीसी अब राजनीतिक दलको मात्र कुरा भएन । यो देशका नागरिकहरुले पनि यसलाई इस्यु बनाएर उठाइरहेका छन् । अब उहाँ त यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले नेपाली काँग्रेसको सभापति र प्रचण्डले माओवादीको अध्यक्षको हैसियतले संयुत्त रुपमा पत्र पठाउनुभएको हो कि बेग्ला–बेग्लै पठाउनुभएको हो ?

उहाँले संयुक्त रूपमा हस्ताक्षर गरेर पठाएको भन्नुभएको छ, तपाईंलाई थाहा छैन् ?

होइन्, एउटा देशको प्रधानमन्त्रीले अर्को पार्टीको हैसियतले पत्र पठाउन मिल्छ कि मिल्दैन् ? त्यो हामीले थाहा पाउनुपर्यो । जनताले थाहा पाउन जरुरी छ यी कुराहरु । म यसलाई खराब भन्दैन् । नेपाली काँग्रेस एमसीसीको पक्षमा नै रहेको छ । तर, यो आम जनताको बीचमा गईसकेको छ । त्यसैले यसलाई छिटोभन्दा छिटो संसद्बाट पास गरेर अगाडि बढ्नुपर्छ ।

प्रधानमन्त्रीज्युले हिजो यसो भन्नुभयो तर, प्रचण्डले यसबारे बोल्नुभएको छैन् । बरु माओवादीका अन्य नेताहरुले यो कुरा गलत हो र एमसीसी संशोधन नभई पास हुनै सक्दैन भनेका छन् नि ?

त्यही त मेरो प्रश्न पनि यही हो । प्रधानमन्त्रीज्यूले जुन कुरा एयरपोर्टमा बोल्नुभयो, त्यो हामीले पनि सुन्यौं । अब त्यो पत्र उहाँले सभापतिको हैसियतमा पठाउनुभएको हो भने त्यसको एउटा बेग्लै कुरा होला । तर, प्रधानमन्त्रीको हैसियतले पठाउन्ुभएको हो भने प्रचण्डजीले सँगै कुन हैसियतले पठाउनुभयो ? यो कुरा जनताले जान्नुपर्छ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । यो कुरामा हामीले खेलाँचली गर्नुहुँदैन् । यो पास गर्नतिर लाग्नुपर्छ । सबै राजनीतिक दललाई सहमतिमा लिएरमात्र अघि बढ्नुपर्छ । यो राष्ट्रिय मुद्दा हो । यसमा नेकपा (एमाले) लाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।

तर, नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले त्यो सहमतिले हुँदैन्, एमसीसी यथास्थितिमा पास हुनसक्दैन् भन्नुभएको छ ?

नेकपा र नेकपा (एमाले) हुँदाखेरी उहाँहरुको पार्टीमा यो विवाद ठुलो भएको थियो नि । उहाँहरुको पार्टी फुट्नुमा एमसीसी पनि एउटा कारण हो । त्यो त हामीले बुझ्न जरुरी छ । त्यसैले देशको प्रधानमन्त्रीज्यूले बोल्नुभएको कुरालाई हामीले मान्नुपर्यो । तर, कुरा के हो भन्ने कुरा जनतालाई थाहा दिन पर्छ ।

उसोभए गठबन्धनमा दरार आउने भयो ?

यो कुरा मलाई थाहा छैन्, प्रधानमन्त्रीज्यूले स्पष्टसँग भन्नुहोला नि । अब आज गठबन्धनको बैठक बस्ला, छलफल गरेर मिलाउनुहोला नि यो कुरा त ।

नेपाल–भारत सम्बन्धको कुरा गर्नुपर्दा, प्रधानमन्त्रीज्यूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अनौपचारिक भेट गर्नुभयो । त्यस भेटमा पहिला मोदी नेपाल आउने त्यसपछिमात्र देउवा भारत जाने भनेर उहाँहरुको बीचमा एउटा सहमति भएको छ भनिएको छ । त्योे सम्भव होला ?

ठीकै छ त । यो त राम्रो कुरा हो । यसमा सम्भव र असम्भवको के कुरा ? यो त नेपालको लागि खुसिकै कुरा हो नि । यसलाई हामीले अन्यथा लिन भएन ।

त्यसो भए नेपाल भारत सम्बन्ध राम्रो हुन्छ भन्ने तपाईंको भनाई हो ?

होइन्, हाम्रो सम्बन्ध नराम्रो पनि छैन् । अब कहिलेकाहीँ छिमेकी भएपछि अफ्ठ्यारा परिस्थितिहरु सिर्जना हुन्छन् । त्यो स्वभाविक हो । हामीहरुको बानी के छ भने थोरै केही भइहाल्यो भने रुष्ट हुने । विश्वको इतिहास नै यस्तै छ । छिमेकहरु बीचमा यस्तो हुन्छ । यस्ता कुराहरुमा हामीहरुले आफ्ना कुराहर स्पष्ट ढंगले राखेर अगाडि बढ्नुपर्छ ।

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुने भयो ?

सभापति, पदाधिकारी, पूर्वपदाधिकारीहरुज्यूहरु त महाधिवेशन तीनवटै निर्वाचन पछि गरौं भन्ने उहाँहरुको चाहना थियो । तर, नेपाली काँग्रेसका कार्यकर्ताहरुले त्यसलाई स्विकार गरेनन् । त्यसपछि अब त निर्वाचन आयोगमा चिठ्ठीपत्र पनि गइसकेको छ । भदौं १८ बाट सुरु गरेर मसिंरभित्र सक्ने भनिएको छ । नेपाली काँग्रेसको महाधिवेश अब त्यही मितिमा हुन्छ ।

तर, विवादहरु यथावत रहेका छन् । क्रियाशिल सदस्यता विवादको समाधान भएको छैन् नि होइन् ?

होइन्, विवाद त पदाधिकारीहरुले गर्नुभएको हो । यो विवाद कार्यकर्ताले गरेका होइन् नि । सभापतिज्यूहरु जिम्मेवार होइन् ? उच्चस्तरीय छानविन समिति जिम्मेवार होइन् ? यसमा उहाँहरु दोषी हो ।

नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको हो ?

त्यो त धेरै पहिलेदेखि भइरहेको थियो ।

तर, शेरबहादुर देउवाको बिरुद्धमा कोही पनि थिएनन् नि ?

हा..हा..हा..तपाईं कुन दुनियाँमा हुनुहुन्छ ? नेतृत्व परिवर्तनको लागि र नेपाली काँग्रेसलाई सुदृढ गर्नको लागि धेरै पहिलेदेखि हामी प्रयासरत रहेका छौं । नेतृत्व परिवर्तन हुन्छ, यसमा ढुक्क हुनुहोस ।

तपाईंहरुसँग बहुमत हुनुपर्यो नि, देशभरिको महाधिवेशन प्रतिनिधिले छान्ने हो नि, कसरी हुन्छ ?

१३ वटा जिल्लाको अधिवेशन भइसकेको छ । १३ वटा जिल्लामा कसको कति आएको छ भन्ने कुरा खुलस्त भइसकेको छ । अरु जिल्लाहरु बाँकी छन ्। तर, उहाँले डढेलधुराजस्तो आफ्नो गृहजिल्लामा पुलिस÷प्रशासन लगाएर जसरी अधिवेशन गराउनुभयो, त्यसरी गर्नुभएन भने परीणाम के आउँछ हामीलाई थाहा छ ।

उहाँसँग शक्ति छ, बाँकी जिल्लामा पनि उहाँले त्यसै गर्नुभयो भने तपाईंहरु के गर्नुहुन्छ ?

यसमा हामीहरुले के गर्छौ भन्ने कुरा होइन । देशका जनता पनि छन् । नेपाली काँग्रेसको महाधिवेशन कसरी भइरहेको छ भनेर विश्वभरका अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेका छन् । नेपाली जनताले पनि चासोको रुपमा हेरिरहेका छन् । यसरी चल्दैन भन्ने कुरा उहाँहरुलाई थाहा होला नि ।

तर, शक्तिको अगाडि तपाईंहरुको केही लाग्ला र ?

हाम्रो केही लाग्छ अथवा लाग्दैन भन्ने कुरा देखिहाल्छ नि ।

तपाईंहरुको बिचमा पनि द्वन्द्व छ, मिलेर एक जना आउन सक्नुहुँदैन् ?

शेरबहादुरजी मै एकमत छ ? यो नेपाली काँग्रेसभित्रैको महाधिवेशन हो । शेरबहादुर देउवाजीको विपक्षमा विमलेन्द्र निधि पनि उठ्दै हुनुहुन्छ नि । उहाँ शेरबहादुरको पक्षको मान्छे होइन् ?

तर, तपाईंहरुको समूहमा ८ जना छन् नि, एक जना हो र ?

अधिवेशन आउन अझै बाँकी छ । कतिजना हुन्छन् हेरौं । रेस हो कोही थाक्छन्, कोही अगाडि बढ्छन् । नेपाली काँग्रेसभित्रको तपाईंहरु किन चिन्ता गर्नुहुन्छ ?

तपाईंहरुको तर्क भनेको अब शेरबहादुर देउवालाई कुनै पनि हालतमा सभापति बन्न नदिने हो, होइन् ?

म के भन्दैछु भने नेपाली काँग्रेसको महाधिवेशनमा नेपाली काँग्रेसले जित्छ । यहाँ शेरबहादुर, रामचन्द्र अथवा शेखरको कुरा होइन् । महत्वपूर्ण कुरा के हो भने अधिवेशन हुन जरुरी छ ।

अधिवेशन भयो भने नेतृत्व परिवर्तन हुन्छ ?

किन नहुनु ? नेपाली जनताले त्यही खोजेका छन् । अवस्श् पनि हुन्छ ।

तर, नेपाली काँग्रेसमा जो पावरमा छ उसकै पक्षमा लाग्ने कार्यकर्ता छन् नि होइन् ?

होइन्, नेपाली काँग्रेसमा के छ भन्ने कुरा तपाईंभन्दा मलाई थाहा होला । तपाईंले भनेकोजस्तो भए उहाँको आफ्नै गृहजिल्ला डढेलधुरामा पुलिस÷प्रशासन लगाउनुपर्ने थिएन । उहाँका कार्यकर्ताले मान्ने थिए नि, होइन् ?

आउँदो महाधिवेशनमा तपाईंहरुले शेरबहादुर देउवाको विपक्षमा साझा उम्मेद्वारी दिन सक्नुहुन्छ ?

यो कुरा मैले कतिपटक भनौंं ? दिन्छौं ।

तर, दिनसक्ने आधार देखिँदैन् नि । रामचन्द्र पौडेलले म हो भन्नुहुन्छ, प्रकाशमान सिहंले अब ब्याक हुँदैन भन्नुहुन्छ, शशांक कोइरालाले जित्ने उमेद्वार म हो भन्नुहुन्छ, अनि तपाईं पनि म हो भन्नुहुन्छ । जनताले कसलाई पत्याउने ?

कसलाई विश्वास गर्ने भन्ने कुरा त्यो तपाईंको कुरा हो । भोटरहरुले कसलाई विश्वास गर्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिले भोट दिने हो । तपाईंहरुले धेरै चिन्ता नलिनुहोस ।

कोइराला परिवारबाट साझा उमेद्वार हुन्छ कि हुँदैन् ?

जुन दिन मनोनयन हुन्छ, त्यही दिन थाहा हुन्छ ।

तपाईं र सुजाता कोइराला बीचमा पनि विवाद छ नि होइन् ?

सबैको कुरा मिल्छ । कोइरालामात्र होइन् सबैसँग कुरा मिल्छ ।

अब युवा पुस्तालाई नेतृत्वमा ल्याउन तपाईंहरु तयार भएको हो ?

मैले त पटक–पटक भनिरहेको छु । १५औं महाधिवेशन युवाहरुको महाधिवेशन हुन्छ । त्यसैले त यसपटक धेरै उम्मेद्धवार बन्न खोजेको हो । उहाँहरु पनि नेपाली काँग्रेसमा लागेको २०औं वर्ष भइसकेको छ । उहाँहरुलाईं पनि युवा त के भन्ने ? तर, पनि अब उहाँहरुको पालो आएको छ ।

उसोभए अब नेपाली काँग्रेसको नेतृत्व युवा पुस्तामा जान्छ ?

जान्छ, त्यसमा शंका गर्नुपर्दैन । कसैले रोक्न सक्दैन् ।

यतिबेला नेपाली काँग्रेस सरकारमा छ । तर, जनता पीडा छन् । नेपाली काँग्रेस सरकारमा गएको बेला किन कहिल्यैपनि जनताका एजेण्डा उठाउदैन् ?

तपाईंले भनेको कुरा एकदम सही हो । अहिले यस्तो ठुलो चाड तिहारको बेलामा जसरी पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ, त्यसलाई उहाँहरुले मज्जाले भनिदिनुहुन्छ यो त अन्तर्राष्ट्रिय हो । तर, हाम्रै छिमेकी मुलुकको कर्नाटक राज्यमा चाडपर्व आएको भन्दै पेट्रोलियम पदार्थमा १९ रुपैयाँ भारु घटाइदिएको छ । तर, उहाँहरु सजिलै यो त अन्तर्राष्ट्रिय रुपमै बढेको भन्नुहुन्छ । यसले कताकता जनता निराश भएको देखिन्छ । हामीहरु जनताको लागि राजनीति गर्ने मान्छेहरुले तल्लो तहका मान्छेलाई हेर्नुपर्छ ।

प्रधानमन्त्रीज्यूले चुनावसम्म गठबन्धन मिलेर जान्छ, चुनावमा पनि ५ दलीय गठबन्धनबाट एक उम्मेद्वार हुन्छ भन्नुभएको छ, यो कति सम्भव छ ?

हा.हा.हा..। अब हेर्नुहोस म त नेपाली काँग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मान्छे । दोस्रो कुरा प्रधानमन्त्री ज्यू ले प्रधानमन्त्रीको हैसियतले बोल्नुभएको हो । नेपाली काँग्रेसको महाधिवेश पनि आउँदैछ । त्यो महाधिवेशनले नेतृत्व पनि परिवर्तन गर्दैछ भन्नेपनि उहाँले बुझ्नुपर्छ । अनि त्यो नेतृत्वले गठबन्धनसँग छलफल गर्ने हो । प्रधानमन्त्रीज्यू त प्रधानमन्त्री नै भइरहनुहुन्छ नि ।

तर, प्रचण्ड र माधव नेपालको प्रस्ताव छ–आगामी निर्वाचनसम्म मिलेर जानुपर्छ भन्ने ?

आजको दिन नेपाली काँग्रेसको सभापति प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हुनुहुन्छ । तर, मसिंरको अन्त्यसम्म नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुन्छ भन्ने कुरा मैले तपाईंलाई पटक–पटक भनिरहेको छु । त्यो नेतृत्वले छलफल गर्ने हो । नेपाली काँग्रेस भित्र छलफलनै भएको छैन्, उहाँ त्यसै बोल्न पाउनुहुन्छ ?

तपाईं नेपाली काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्नेमा हुनुहुन्छ ?

हो, म सुरुदेखिनै भनिरहेको छु । कतैकतै गर्ने कुरा आफ्नो ठाँउमा होला तर, नेपाली काँग्रेस एक्लै जानुपर्छ । उहाँले प्रधानमन्त्रीको हैसियतमा बोल्नुभएको होला तर, सभापतिको हैसियतमा बोल्न पाउनुहुँदैन् । नेपाली काँग्रेसभित्र छलफल पनि भएको छैन्, अनि कुन हैसियतमा उहाँ बोल्दै हुनुहुन्छ ?

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot