प्रकाशमानलाई रविन्द्र मिश्रको जवाफ : तपाईँहरुले काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन


काठमाडौं, १९ कार्तिक । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई जवाफ फर्काएका छन् । आज एक कार्यक्रममा सम्बोधनको क्रममा नेता सिंहले मिश्रले नयाँ नयाँ नारामात्रै दिएको तर काम गर्न नसकेको भनेर अभिव्यक्ति दिएका थिए ।

सिंहले भनेका थिए-“मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले थपेका थिए,‘पार्टी सानो छ, तर पटक(पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’

यता, मिश्रले भने सामाजिक सञ्जालमार्फत सिंहलाई जवाफ फर्काएका छन् । उनले यो ३० वर्षमा तपाईँहरुले केही गर्न नसकेको आरोप लगाएका छन् । उनले लेखेका छन्-

अनि भन्नुहोला:
तपाईंहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन। ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायलय, समाज सबै विगार्ने तपाईंहरू, अनि दोष लगाउने हामीलाई?
हाम्रा ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ। अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जन अनुमोदन प्राप्त भएको छैन। जन अनुमोदन प्राप्त भए पछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोला: नारामात्र दिएर हुँदैन!
Photo Source: The Kathmandu Post