Logo

प्रचण्डले अमेरिकालाई चिठ्ठी लेखेको भनेपछि एमसीसीबारे बोले नारायणकाजी



काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्राचार गरेको भनेर अभिव्यक्ति दिएपछि नेपालको राजनीति तरंगित बनेको छ । खासगरी बेलायत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका थिए । तर, प्रचण्डले हिजोमात्रै प्रधानमन्त्री देउवाको त्यस्तो अभिव्यक्तिको खण्डन गरिसकेका छन् । उनले आफूहरुले सरकारको तर्फबाट नभई पार्टीको तर्फबाट अमेरिकालाई पत्राचार गरेको बताएका थिए ।

उता, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हितबिपरितका प्रावधानहरु नसच्याई एमसीसी स्विकार गर्न नसकिने बताएका छन् । उनले हिजोमात्रै सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टीको आधिकारिक धारणा भन्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाको अभिव्यक्तिले के रहस्य खोलेको छ भने एमसीसीको सन्दर्भमा दाहालले अमेरिकालाई पत्राचार गरेको भने पुष्टि भएको हो । उनले पत्राचार गरिएको स्विकारेका छन् ।

श्रेष्ठले लेखेका छन्-

५ दलीय गठबन्धनको केही समय अघिको बैठकले गठबन्धनको प्रभावकारी भूमिकाको निम्ति दलीय समन्वय समिति बनाउने ( सरकार सञ्चालन संयन्त्र होइन )निर्णय गरेको थियो ।तर अहिले सम्म पनि त्यो निर्णय कार्यान्वयन नहुनु उचित होइन ।त्यसैले तत्काल त्यस्तो समिति बनाउने निर्णय गरौं । अदालतले प्रतिनिधिसभा सुचारु गरेपछि र देउवा सरकार गठन भएदेखि यता सङ्घर्षको बेलाको दलहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धनमा परिणत भएजस्तो देखिनु राम्रो होइन।के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट सांघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियति हो?सच्चिऔं। नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न ।यो नै हाम्रो पार्टी नेकपा ( माओबादी केन्द्र ) को आधिकारिक निर्णय र धारणा हो।त्यसैले कुनै भ्रममा नपरौं ।



प्रतिक्रिया दिनुहोस्