Logo

नख्खु कारागारमा भाईटिका लगाउन लाईन



काठमाडौं, २० कार्तिक । आज भाईटिका । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनान्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने टीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । आज ललितपुरस्थित् नख्खु जेलमा आफ्ना दाजुभाईलाई टिका लर्गादिन भन्दै दिदिबहिनीहरु आईपुगेका छन् । कोही कति त दाजुभाई पनि लाईनमा बसेका छन्।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको समय उत्तम रहेको नेपाल चञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने छन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर–मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

 



प्रतिक्रिया दिनुहोस्