Logo

कर्णालीबासीले खान नपाउने र भोकै मर्ने अवस्था आउन दिन्न: मुख्यमन्त्री शाही (भिडिओसहित)



काठमाडौं, कात्तिक २० । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सरकारले कनेक्टिभिटीलाई प्राथमिकता दिने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, “कर्णालीमा पूर्वाधारको अभाव छ । बाटो, बिजुली, टेलिफोन पुगेको छैन । मेरै जिल्ला हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । त्यसैले मैले कनेक्टिभिटीलाई प्राथमिकता दिएको छु ।”

भूगोलमा सबैभन्दा ठूलो र जनसंख्या सबैभन्दा थोरै रहेको कर्णालीको गरिबी बिस्तारै घट्दै जाने पनि मुख्यमन्त्री शाहीले बताए । उनले भने, “कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुमबाहेकका जिल्लामा पर्याप्त अनाज उत्पादन हुँदैन । बाटो बनेपछि तल्लो भेगका उत्पादन माथिल्लो भेगमा जान थालेको छ । गरिबी पनि घट्दै गएको छ । कनेक्टिभिटी नहुँदा नै कर्णालीबासीले गरिबी झेलिरहनुपरेको हो । अब सुनको थालमा भिख माग्न सुहाउँदैन ।”

उनले कर्णालीबासीले खान पाएनन्, भोकै मरे भन्ने अवस्था आउन नदिने पनि दाबी गरे । उनले भने, “हाम्रो संविधानमै खाद्य सम्प्रुभताको ग्यारेन्टी गरिएको छ । यसपालि हुम्लामा छिटो हिउँ पर्यो । लिमी गाउँ र सिमकोटको सम्बन्ध टुटेको छ । त्यहाँ हेलिबाट तत्काल खाद्यान्न पुर्याउनुपर्ने अवस्था आइसक्यो । म हिजोजस्तो खान नपाउने, भोकै मर्ने अवस्था आउन दिने छैन ।” बाटो, बिजुली, वन, बुटी, विचार र व्यवस्थापनबाट कर्णालीले विकासमा फड्को मार्ने उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले विकासका लागि सुशासन र सुशासनका लागि विकास चाहिने औंल्याउँदै विगतको सरकारका राम्रा कामलाई निरन्तरता दिने पनि बताए । उनले भने, “मेरो पदावधि अत्यन्त छोटो छ । पद पाउनेबित्तिकै सबै थोक ठीक भइहाल्छ भन्ने होइन । तर इमानदारीपूर्वक काम गर्ने हो भने ठीकठाक हुन समय पनि लाग्दैन । राजनीतिमा पद प्राप्ति गर्नु भनेको जनताको हितमा अधिकतम काम गर्नु हो । जनताको सुख र समृद्धिका लागि समर्पित हुने अवसर हो । अब पैसा भएर पनि खर्च गर्न नसक्ने स्थिति अन्त्य गर्नुपर्छ ।”

कार्यक्रममा उनले कर्णाली प्रदेशबाट नै सत्ता गठबन्धन सुरु भएको खुलासा पनि गरे । उनले भने, “महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस र माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर गठबन्धनको सूत्रपात गरेका हौं । त्यसपछि मात्र गण्डकी, लुम्बिनी हुँदै सबै प्रदेश र संघमा समेत गठबन्धनको सरकार बन्यो ।”

अघिल्ला मुख्यमन्त्री शाहीको सरकार जोगाउने क्रममा भएको सहमति अनुसार  आफू मुख्यमन्त्री बनेको पनि उनले बताए । उनले भने, “प्रदेशका ४० सिटमध्ये नेपाली कांग्रेसको ६ जना मात्र सांसद छन् । त्यसमा पनि म एक्लो निर्वाचित सांसद हुँ । त्यसैले मुख्यमन्त्री बन्ने कल्पना पनि गरेको थिइनँ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले यो कुरा राख्दा पार्टी सभापति शेरबहादुर देउवाले पनि पत्याउनुभएको थिएन । पूर्व सहमतिमा महेन्द्रबहादुर शाहीले राजनीतिक इमानदारी देखाउनुभएको छ ।”

मुख्यमन्त्री बनेपछि चीनले नेपाली भूमि मिचेको कुरामा अडिग हुनुहुन्छ कि ब्याक हुनुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “मैले चीनबाट नेपाली भूमि मिचिएको कुरा गर्दा कसैको लहैलहैमा लागेको भनेर शंका पनि गरे । विद्वानहरुले कालापानी, सुस्ताको बारेमा नबोल्ने, चीनको विरुद्ध बोल्ने भनेको पनि सुनेँ । नेपाल गरिब छ भन्दैमा कुनै पनि देशले भूमि मिच्न पाइँदैन । म हुम्लामा जन्मिएको हुँ, हुम्लाकै जनप्रतिनिधि हुँ । हाम्रा पुर्खाले खर्क बस्ने ठाउँमा चीनले नेपाललाई नसोधी ११ भवन बनाएको, सीमास्तम्भ नयाँ बनाउने र घेरेर राख्ने गरेकाले मैले बोलेको हुँ । यसमा अडिग नहुने प्रश्नै छैन ।”

उनले नेपाल चीन सीमा विवाद दुवै देशका प्रतिनिधि रहेको उच्चस्तरीय सीमा निरीक्षण समिति बनाएर समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, “मैले कुनै देशविरुद्ध बोलेको होइन । आफ्नो भूमिको कुरा उठाएको हुँ । सीमा निरीक्षण समिति बनाउने हो भने भविष्यमा विवाद हुन पाउँदैन । दुई देशबीचको मित्रता अझै बलियो हुन्छ ।”

https://youtu.be/cWW5UtkA1ZU



प्रतिक्रिया दिनुहोस्