Logo

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाईते



काठमाडौं, कार्तिक २१ । रौतहटबाट काठमाडौँ आउँदै गरेको एक यात्रुबाहक बसले मकवानपुरमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने आठ घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको मकवानपुर सडक खण्डअन्तर्गत नेवारपानीस्थित सडक किनारमा रङ साइडमा देउसी खेलिरहेको समूहलाई शनिवार राति ९ः४५ को समयमा बा ३ – ००१ ख ०९३६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।

तीव्र गतिमा रहेको रात्री सेवाको बसले सडकमै देउसी खेलिरहेको समूह नजिकै पुगेपछि सन्तुलन गुमाएर समूहलाई ठक्कर दिन पुगेको बताइएको छ।

बसको ठक्करले हेटौँडा उपमहानगरपालिका १९ का २० वर्षका सुरज विष्ट र चितवन पिप्ले ३ का २३ वर्षका प्रेमबहादुर सिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

घटनामा आठ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बसले ठक्कर दिएपछि आक्रोेशित स्थानीयले बसमा तोडफोड गरी आगो लगाएका छन्। बसका चालक रौतहटको चन्द्रपुर ६ का ३८ वर्षीय अमितकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।



प्रतिक्रिया दिनुहोस्