काठमाडौं, कात्तिक २१ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नै सम्मानजनक बहिर्गमन भएको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “नेपाल बारले राणाविरुद्ध १२, १३ वटा अभियोग लगाउँदै उहाँबाट न्यायालयको नेतृत्व सम्भव छैन भनेर दबाबमूलक कार्यक्रम गरेको हो । अब भोलि र पर्सि धर्ना सर्वोच्च अदालतमा धर्ना दिन्छौं । त्यसपछि बार कार्यसमितिले ९० एकाइसँग भर्चुअल छलफल गरी नयाँ कार्यक्रम ल्याउँछ । अहिले प्रधानन्यायाधीशको अपमानजनक बहिर्गमनको कुरा कसैले गरेको होइन, अब थपक्क राजीनामा दिनु नै सम्मानजनक बहिर्गमन हो ।”
बारका पूर्वउपाध्यक्ष भट्टराईले राजनीतिक भाषा बोल्ने प्रधानन्यायाधीश राणाको निर्वाचन क्षेत्र कुन हो भनी प्रश्न गरे । उनले थपे, “बहालवाला प्रधानन्यायाधीशलाई आफ्नो टेलिभिजन च्यानलमा ल्याएर अन्तर्वार्ता लिनु तपाईंको सफलता होला । तर के बहालवाला प्रधानन्यायाधीशले एउटा प्राइभेट च्यानललाई अन्तर्वार्ता दिएर राजनीतिक भाषा बोल्न मिल्छ ?”
उनले थपे, “बार एसोसिएसन पनि सडक होइन, न्यायाधीशहरु पनि सडक होइनन् । सांसद या राजनीतिज्ञले जस्तो भाषामा बोल्ने राणाको निर्वाचन क्षेत्र कुन हो ? बारको सदस्य र १० वर्ष वकालत गरेका आधारमा उहाँ पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालत प्रवेश गर्नुभएको हो । उहाँ ठीक हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारेमा देशभरिका अदालतमा बाकस राखौं न त । उहाँ तयार हुनुहुन्छ ?”
प्रधानन्यायाधीश राणाको पक्षमा धेरै मिडिया र भिजिलान्ते प्रयोग भएको आरोप पनि उनले लगाए । उनले भने, “अहिले कुनै पनि दलले प्रधानन्यायाधीशले संस्थागत रुपमा राजीनामा दिनुहुँदैन भनेका छैनन् । यो भ्रष्टाचारविरुद्धको आन्दोलन हो, राणालाई काँधमा राखेर कुन दल जनतासँग भोट माग्न जान सक्छ ? बारसँग सिँगौरी खेल्ने तागत कुनै दलसँग छैन ।”
बारले महाभियोगभन्दा पनि न्यायालयभित्रका विकृतिको अन्त्यका लागि बहिर्गमन माग गरेको उनले स्पष्ट पारे । उनले भने, “प्रगतिशील र प्रजातान्त्रिक वकिलहरुको संस्थाले पनि बारको आन्दोलनलाई साथ दिएका छन् । उनीहरुले सेवाग्राहीका निम्ति इजलास बहिष्कार गर्नुहुन्न मात्र भनेका हुन् । सबै दलभित्र बारको आन्दोलनबारे छलफल सुरु भएको छ । अब आन्दोलनको आँधीबेरीले कसलाई कहाँ पुर्याउँछ, केही दिनमै थाहा हुन्छ ।”




प्रतिक्रिया