Logo

‘प्रधानन्यायाधीश जबरालाई हटाउन षड्यन्त्र गर्नेहरुलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने चेतावनी’



इजलास बहिष्कार गर्ने न्यायाधीशहरू र बार पदाधिकारीसँग खनिईन् तारा बराल
काठमाडौं, २१ कार्तिक । जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले यस्तो बताएको हो ।

महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको बताईन् । नेपाल बारको आन्दोलन पनि विदेशीको खर्चमा भएको उनको आरोप छ ।

उनले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुले सुरुमा लैनचोर आसपासमा गोप्य बैठक गरेको र पछि हल्लाखल्ला हुने भयो भनेर अनामनगरको घट्टेकुलो आसपासमा गरेको कुरा आफूकहाँ मौखिक रुपमा सूचना आएको पनि सार्वजनिक गरिन् । प्रधानन्यायाधीश जबराविरुद्ध देशभरि रहेका ९० वटा बार ईकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार ईकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको पनि आफूहरुले थाहा पाएको बरालले आरोप लगाईन् ।

उनले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेञ्च बहिष्कार गर्ने ती नयायाधीशहरु होईनन्, गद्दार हुन् । उहाँहरुले प्रधानन्यायाधीशलाई विवादस्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित ? त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानी भएपनि आफूले त्यसको जिम्मा लिने बताईन् ।

उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरु कसैले पनि गर्न नसकेको दाबी पनि गरिन् । उनले भनिन्,‘यहाँ त नागरिकता विद्येयक पारित गराउने तयारी थियो, तर प्रधानन्यायाधीशले त्यसलाई रोक्नुभयो । अब प्रधानन्यायाधीशले होईन, न्यायाधीशहरु र बारका पदाधिकारीले राजीनामा दिनुपर्छ ।’ उनले इजलास बहिष्कार गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि लगाएका सबै आरोपको पुष्टि गर्नुपर्ने भनाई राखिन् ।

प्रधानन्यायाधीशले एनसेल ६१ अर्ब कर तिर्नुपर्छ भनेर फैसला गरेको, नागरिकता विद्येयक खारेज गरेको, विद्यादेवी भण्डारीको अध्यादेश उल्टाईदिएको, जग्गाको प्लटिङको निर्णय उल्टाईदिएको, चुरे दोहन गर्न नदिएको, नेपाल वायु सेवा निगमलाई निजीकरणबाट हुनबाट रोकेको र जनप्रतिनिधिले भक्ता खान नपाउनेजस्ता लोकप्रिय फैसला गरेको उनले फेहरिस्ति सुनाईन् । बरालले प्रधानन्यायाधीश जबरा तीन करोड नेपाली जनताको हिरो भएको पनि बताईन् ।

अब आम जनता सडकमा आउनुपर्ने उनको अपिल थियो । उनले भनिन्,‘वकिलहरुलाई संघ÷संगठन बनाउन कसले लगायो ? त्यो गलत होईन र ? जनताको आयोग महाभियान सत्य र निष्ठाको पक्षमा छ । हामी देशको हितको पक्षमा सधैं उभिन्छौं । प्रधानन्यायाधीशलाई न्याय चाहिए हामी उहाँको पक्षमा उभिन तयार छौं ।’

उनले प्रधानन्यायाधीश जबरालाई हटाएर अब न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने तयारी भएको र त्यसलगत्तै न्यायाधीश मीरा खड्का अब प्रधानन्यायाधी हुने बताईन् । उनले भनिन्–‘उनीहरुले आधा–आधा कार्यकाल खाने सहमति छ । मीरा खड्का दुई वटा नागरिकता छ भन्ने कुरा आएको छ । शम्भु थापा तिमी को हौ ? प्रधानन्यायाधीशको राजीनामा माग्ने ? सपना प्रधान मल्ल पार्टीकी मान्छे हो । सपना प्रधान प्रधानन्यायाधीश हुनु भनेको एमालेले मात्रै न्याय पाउनु हो । बारका अध्यष चण्डेश्वरले हामीलाई चोलेन्द्रको चम्चे भनेछन्, बारले आन्दोलन फिर्ता नलिए हामी अर्को आन्दोलन गर्छौं ।’

उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिईन् । त्यतिमात्रै नभएर जे भेट्यो त्यसले हान्ने पनि उनको चेतावनी छ । उनले भने,‘त्यसरी हान्ने जनतालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौं । अब देशलाई खिचातानीमा राख्नुहुन्न । नेपाल बारको आन्दोलनको तुक छैन् ।’

त्यस्तै, कार्यक्रममा महाअभियान कार्यसमिति सदस्य मनिष मानवले सम्पुर्ण नेपाली जनताहरु जाग्नुपर्ने दिन आएको बताए उनले न्यायालय सेतोलाई सेता र कालोलाई कालो भन्ने र छुट्याउने स्थान भएको भन्दै अहिले पैसामा बिकेको समेत आरोप लगाए । उनले भने,‘नेपाल बार प्रधानन्यायाधिश लाई नियुक्ति गर्ने र हटाउन बनेको हो । राजनीतिक दलहरुले चोलेन्द्र शमशेरलाई बलिको बोको बनाएका छन् ।’

उनले नेपाल बार नै खारेज गर्न पनि माग गरे । उनले भने,‘न्यायापालिकालाई हस्तक्षेप गर्ने यो बार खारेज गर्नुपर्छ । शम्भु थापा कालोलाई सेतो र सेतोलाई कालो भनेर फैसला गर्ने वकिल हुन् ।’ उनले नेपाल बार एशोसिएशन जसरी पनि खारेज गर्न सरकारसँग माग गरे ।

महाभियानका संरक्षक वीरेन्द्र डंगोलले न्यायालयमाथि चौतर्फी आक्रमण भइरहेको टिप्पणी गरे । उनल न्याय दिनेहरुनै यसरी लडेपछि जनताहरु झन अन्यायमा परेको गुनासो गरे । उनले नेपालको न्यायिक ईतिहासमा अरु कोही पनि प्रधानन्यायाधीशहरुले नगरेको काम चोलेन्द्रले गरेको समेत जिकिर गरे । उनले भने,‘अब फेरी अर्को प्रधानन्यायाधीश कस्तो आउने हो ? झन् फटहा पो आउने हो की के थाहा ?’ उनले शम्भु थापाले प्रति मुद्दा २ लाखमा हेर्ने गरेको समेत आरोप लगाए । जनताको हितको लागि आफुहरुले अभियान चलाएको भन्दै उनले राजनीतिक दलको झोला बोक्न छाडेर सबै एक भएर अगाडि बढ्न समेत आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा पीडित लक्की कुमार रौनियारले आफ्नो दुःखेसो पोखेका थिए । न्यायाधीशहरुले कसरी आफूलाई मुद्दा हराए भन्दै सुनाएका थिए । उनले अंशबण्डा मुद्दामा आफूलाई तत्कालिन सुशिला कार्कीलगायतका न्यायाधीशहरुले अनावश्यक दबाब दिएको बताए । उनले न्यायाधीशहरु शुसिला कार्की र प्रकाशको संयुक्त इजलासले अंशवण्डा फैसला गर्दा आफु झन् पीडित भएको गुनासो गरे ।

उनले भने,‘दीपककुमार कार्की पनि प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्छ, जोसुकै होस् तर राम्रो फैसला गर्नुपर्छ ।’ उनले सही फैसला नगर्ने न्यायाधीशहरुलाई राख्न नहुने जिकिर गरे । हरेक मानिस कुनै न कुनै कुनै दलसँग आबद्ध भएको भन्दै न्यायाधीशले सेतोलाई सेतो र कालोलाई कालो भन्नुपर्ने उनले बताए । न्यायाधीशहरुले कार्यसम्पादत गर्दा निश्पक्ष भएर गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘उहाँहरु निश्पक्ष भएर न्याय सम्पादनको काम गर्नुपर्छ, गल्ती कसको छ छुट्याउन सक्नुपर्छ ।’ उनले आफ्नोजस्तो मुद्दामा अरुलाई अल्झाएर थप दुःख नदिन समेत न्यायाधीशहरुलाई आग्रह गरे । उनले चोलेन्द्र शमशेरको राजीनामाले मात्रै न्यायालयको समस्या समाधान नहुने जिकिर गरे ।

कार्यक्रममा अर्का वक्ता मदननाथ कर्माचार्यले न्यायिक क्षेत्र निश्पक्ष हुनुपर्ने बताए । उनले न्यायालयमा दुई वा सोभन्दा बढीको नेतृत्वमा रहन नहुने बताए । न्यायको व्यवस्थामा राज्यसंस्था चलाउनेहरु स्वतन्त्र हुनुपर्ने उनको भनाई थियो । उनले बार एसोशियसनभित्र राजनीतिको छायाँ पार्नु नहुने पनि टिप्पणी गरे । उनले राजनीति गर्ने हो भने न्याय छाड्नुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्