Logo

प्रचण्ड, बाबुराम र माधव नेपाललाई चुनाव हराइछाड्ने रणनीतिमा ओली



काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति निकै आक्रामक हुने गर्छन् । उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति शब्दवाण प्रहार गरिरहेका छन् ।

प्रचण्ड र बाबुराममाथि माओवादी द्वन्द्वका क्रममा १७ हजार मृत्युको दोष लगाउन थालेका छन् । उनले दुवैको नाम लिएर आइतबार एक कार्यक्रममा भने, १७ हजार मर्दा प्रचण्ड र बाबुराम कसरी बाँचे ? प्रचण्ड र बाबुरामले विदेशीको इशारामा देशमा हिंसा मच्चाएको आरोप समेत लगाइरहेका छन् ।

ओली माधवकुमार नेपालविरुद्ध झन् आक्रामक बन्दै गएका छन् । उनले नेपाल आफू बन्नभन्दा एमाले बिगार्न लागेको आरोप लगाइरहेका छन् ।

प्रचण्डलाई आउँदो चुनाव हराउन ओलीले रणनीति बनाइसकेका छन् । त्यसका लागि राप्रपाबाट प्रचण्डविरुद्ध चुनाव लडेका विक्रम पाण्डेलाई पार्टीमा भित्राउन खोजेका छन् । पाण्डे एमाले प्रवेश गर्ने निश्चित भइसकेको छ । उनको चितवनमा बलियो पकड छ ।

प्रचण्डमाथि चुनौती थप्न ओलीले उनका पूर्व सहकर्मी रामबहादुर थापा बादललाई साथ लिएका छन् । बादललाई एमालेको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । बुटवलमा गर्ने भनिएको एमालेको १०औं महाधिवेशन चितवनमा सारेका छन् । प्रचण्ड चुनाव जितेको क्षेत्रमा रहेको माडी अयोध्यापुरीमा राम मन्दिर निर्माण गरेर चुनौती थपिदिएका छन् ।

बाबुरामलाई गोरखाबाट चुनाव हराउन ओलीले उनका विरोधीहरुलाई साथमा ल्याइसकेका छन् । त्यहाँ उनका विरुद्ध चुनाव लड्ने जोकोहीलाई साथ दिने सम्मको ओलीको रणनीति रहेको बुझिएको छ । त्यस क्षेत्रमा प्रभाव रहेका एकजना चर्चित व्यक्तिलाई ओलीले साथमा पारिसकेको बुझिएको छ ।

माधव नेपाल चुनाव लड्ने काठमाडौं या रौतहट सम्भावित क्षेत्रमा ओलीले अवस्था बुझ्न थालिसकेका छन् । रौतहटमा प्रभु साहलाई साथमा लिइसकेका छन् । माधव नेपाल रौतहटमा चुनाव लड्न बढेमा साहलाई बढाउने ओलीको रणनीति देखिन्छ । काठमाडौंमा पनि माधव नेपाललाई चुनाव हराउन ओलीले सबै किसिमको अस्त्र प्रयोग गर्ने गरी तयारी थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot