Logo

कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन्ः प्रकाशमान सिंह



काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितीबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काँग्रेस बचाउनुहोस् ।’

काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । काँग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको बताए । उनले भने,‘काँग्रेस कमजोर भए कम्युनिस्टहरुले लोकतन्त्र नै फालिदिन्छन् ।’

नेपाली काँग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि काँग्रेसले निभाउने बताए । विगतमा कम्युनिस्टहरुले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको बताए ।

दुई तिहाई मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको बताउँदै भने,‘कम्युनिस्टहरुले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो ।’ ओली सरकारको पालामा कम्युनिस्टहरुभित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो ।’

ओलीलाई हावादारी गफमा कसैले जित्न नसक्ने बताए । कम्युनिस्टहरुको लह लहैमा लाग्दा देश समस्यामा फसेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने ठोकुवा गरे । उनले चुनावमा काँग्रेस एक्लै प्रतिष्पर्धामा उत्रनुपर्नेमा जोड दिए ।

उनले भने,‘पार्टीको १४औं महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन ।’ विगतमा गठबन्धनको केही प्रयास भएपनि सफल नभएको स्मरण गराए ।

थापाले भने,‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’

थापाले अदालतमा अहिले ठूलो दंगा÷फसाद परिरहेको टिप्पणी गरे । उनले भने,‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ ।’ उनले काँग्रेस महत्वपूर्ण विषयहरुमा स्पष्ट हुनुपर्ने बताए ।

विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा काँग्रेसको मत घटेको बताए । फेरि त्यस्तो अवस्था आउन दिन नहुने बताए । उनले भने,‘ चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौंमा काँग्रेसेको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्