Logo

न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्छः उपेन्द्र यादव



काठमाडौं, कात्तिक २३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने औंल्याएका छन् । न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने उनको टिप्पणी छ ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, “न्यायपालिका र राजनीति छुट्टाटछुट्टै क्षेत्र हुन् । त्यसैले आआफ्नो क्षेत्रका समस्या आफैंले समाधान गर्नुपर्छ ।  न्यायालयभित्र राजनीति,  न्यायालयभित्र राजनीति छिर्न दिनुहुँदैन । न्यायालयको विवाद नेताहरुले र राजनीतिको समस्या न्यायालयले टुंगो लगाउने भन्दा पनि यसमा संयमित भएर निकास खोज्नुपर्छ ।”
न्यायपालिका विवादबारे पाँच दलीय गठबन्धनभित्रको संयन्त्रले छलफल गरेर सामूहिक रुपमा निर्णय लिने यादवले बताए । उनले भने, “न्यायापालिकाको स्वतन्त्रता र राजनीतिक निर्णयका बीचमा एउटा लक्ष्मणरेखा हुनुपर्छ । अहिले तीलको पहाडजस्तो बनाइएको छ । विद्वान् अधिवक्ता र न्यायमूर्तिहरुबाटै न्यायालयले निकास पाउँछ ।”
गठबन्धनले प्रधानन्याधीशविरुद्ध महाभियोग लगाउने निर्णय गर्छ कि गर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “महाभियोगबारे म भविष्यवाणी गर्न सक्दिनँ । पाँच दलमा छलफल भइरहेको छ । अहिले हामी पक्ष र विपक्षमा किन बाँडिने ? न्यायालय पक्ष र विपक्षमा बाँडिएर राजनीति गर्ने थलो होइन । सत्य र न्यायका पक्षमा त सबै उभिनुपर्छ नि ।”
पाँच दलीय गठबन्धन आगामी चुनावसम्मका लागि बनाइएको उनले दाबी गरे । उनले थपे, “नेपालमा लोकतन्त्र बरोबर धरापमा पर्दै आएको छ । लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनेको हो । त्यतिबेला यो गठबन्धन नभएको भए लोकतन्त्र समाप्त भइसक्थ्यो ।”

नेकपा (माओवादी केन्द्र) सँग आगमी चुनावमा सिट तालमेल गरेर जाने नेता यादवले बताए । उनले भने, “एकताको कुरा गर्नु राम्रो हो । तर प्रचण्डहरु दुनियाँमा कहीँ नभएको माओवादी भन्नुहुन्छ, हामी समाजवादी भन्छौं । माओवादी र कम्युनिजमको ह्याङओभर त्यागेर समाजवादी लोकतन्त्रमा सहमत हुनुभयो भने हाम्रो मिलनबिन्दु भेटिन सक्छ । तत्काल एकता सम्भव छैन । परिस्थिति बनिसकेको छैन ।”



प्रतिक्रिया दिनुहोस्