Logo

न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा गठबन्धन छैनः दुर्गा पौडेल



काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धन न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा नरहेको स्पष्ट पारेकी छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ पौडेलले भनिन्, “पाँच दलीय गठबन्धन न्यायालय स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुनुपर्छ, न्यायालयभित्रको विवाद छिटोभन्दा छिटो समााधान गर्नुपर्छ भन्ने पक्षमा छ । तर विवादको मूल जरो कहाँनेर छ भन्ने अध्ययन नगरी न्यायालयमा हस्तक्षेप गर्ने कुरा आउँदैन ।”
उपाध्यक्ष पौडेलले पाँच दलीय गठबन्धनको हिजोको बैठकमा धेरै विषय भएकाले  न्यायालयको एजेन्डामा प्रवेश नगरेको पनि जानकारी दिइन् । उनले भनिन्, “दसैं, तिहारका कारण गठबन्धनको बैठक बसेको थिएन । विषय धेरै थिए, समय छोटो थियो । न्यायालयजस्तो संवेदनशील विषयमा छलफल गर्दा समय पुग्दैन भनेर हामीले अर्को बैठक कात्तिक ३० मा राखेका छौं । त्यहीँ घनिभूत रुपमा छलफल गर्छौंं । अहिले नै यो वा त्यो गर्छौं भन्ने अवस्था छैन ।”
सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको पनि उनले बताइन् । उनले भनिन्, “पाँच दलीय गठबन्धन प्रतिगमनविरुद्ध, संविधान र उपलब्धिको रक्षार्थ बनेको हो । यसले निकट भविष्यमा हुने राष्ट्रिय सभा र उपनिर्वाचनमा संयुक्त रुपमा जाने तय गरेको छ । आगामी निर्वाचनसम्म यो यसै गरी अगाडि जान्छ ।”
सरकारले जनचाहना अनुसार द्रुत गतिमा काम गर्न नसकेको उनले स्वीकारिन् । उनले थपिन्, “सरकारको पहिलो प्राथमिकता कोभिडको खोप थियो । जनतालाई बचाउनु मुख्य चुनौती थियो । सरकार लक्ष्य नजिक पुगेको अवस्था छ । अरु काम गर्नका लागि थुप्रै अवरोध छन् । त्यसलाई चिरेर अगाडि बढ्छौं ।”



प्रतिक्रिया दिनुहोस्