Logo

मिथिलामा प्रेम र समर्पणको पर्व ‘सामा’ सुरु



महोत्तरी, २३ कात्तिक । मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन नै ‘सामाचकेवा’ आज सुरु भएको हो । महोत्तरीसहितका मिथिला क्षेत्रमा बोलीचालीमा ‘सामा’ भनिने रमाइलो खेलको यो पर्व कात्तिक पूर्णिमासम्म मनाइन्छ ।

दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्नेछन् । आज (कात्तिक शुक्ल पञ्चमी) को दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा कान्लाबाट दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाएका छन् ।

सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी बनाइने छ । रङ्ग्याइएका आकृति रातको समयमा रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा खेल्ने मैथिल परम्परा छ । दिदीबहिनीले गाउने सामा गीतमा आफ्ना दाजुभाइको सौर्य बखान र दीर्घायुको कामना हुन्छ ।

मिथिलाका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएको सामा–चकेवा पर्व निकै महत्वपूर्ण मानिन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग पर्व मनाउने गर्छन् । सामा खेल्नाले दाजुभाइ दीर्घजीवी र बहादुर हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध मधुर र प्रगाढ हुने जनविश्वास छ ।

मध्यरातसम्मको चकमन्न समयमा नगर⁄गाउँ बस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले छोरी नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ ।

पर्वमा मिथिलानीले सतभैया, चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने चलन रहेको छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापरयुगबाट सुुुरु भएको मिथिला संस्कृतिका जानकारहरु बताउँछन् । द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला) ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै ९सामा र चकेवा० लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ । रासस । तस्विर स्रोतः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्