Logo

एमसीसीबारे गठबन्धनभित्र तीन धार, कस्ले अड्कायो हलो ?



काठमाडौं, २३ कात्तिक । सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ । अर्को धार संशोधनविना पास गर्न नहुने पक्षमा छ । तेस्रो पक्ष एमसीसीको नाम नै सुन्न चाहँदैन । कुनै हालतमा एमसीसी पास गर्न नहुने पक्षमा छ ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न आतुर छन् । उनले एमसीसी पास गर्न आफू र प्रचण्डले पत्र लेखेको खुलासा समेत गरेका छन् ।

जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे भ्रम फैलाइएको बताए । उनले देश विकास नचाहनेले भ्रम फैलाएर सहयोग लिन नहुने जस्तो बनाउन खोजेको आरोप लगाए । आज गृहजिल्ला गोरखामा पुगेर भट्टराईले एमसीसीको पक्षमा खुलेर बोलेका छन् ।

एमसीसीप्रति सत्ता गठबन्धनका माओवादी र नेकपा एस फरक धारणा राखिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् । प्रचण्डले अमेरिकालाई एमसीसी पारित गर्न पत्र लेखेको देउवाको अभिव्यक्तिको खण्डन गरिसकेका छन् ।
नेकपा एसले झलनाथ खनालले विगतमा नेकपा हुँदा नै दिएको सुझाव अनुसार संशोधनविना एमसीसी पारित गर्न नहुने अडान राखेको छ ।

गठबन्धनभित्रको जनमोर्चा नेपालले एमसीसी कुनै हालतमा पारित गर्न नहुने भन्दै आएको छ । एमसीसी पारित गर्न खोजे गठबन्धन छाड्ने जनमोर्चाको चेतावनी छ ।
माओवादीभित्र पनि एमसीसी कुनै हालतमा पारित गर्न नहुने एउटा धार छ । देव गुरुङलगायतका नेताहरु एमसीसीप्रति कठोर धारणा राख्छन् ।

सत्ता गठबन्धनभित्रै एमसीसीबारे तीन धार छ । यसकारण गठबन्धनले चाहेर मात्र एमसीसी पारित हुने सम्भावना कमजोर छ । एमसीसी पारित गर्न खोजे माओवादी र नेकपा एसभित्र विद्रोह हुने सम्भावना देखिन्छ । त्यसकारण प्रचण्ड र माधव नेपाल अगाडि बढ्न खोजिरहेका छैनन् ।

नेकपा एमाले विगतमा एमसीसीको पक्षमा भएपनि फरक राजनीतिक परिस्थिति भन्दै खुलेको छैन । एमालेले एमसीसीबारे सत्ता गठबन्धनको संयुक्त धारणा आएपछि मात्र बोल्ने रणनीति लिएको छ ।

एमसीसी पारित गर्न राष्ट्रिय सहमति बनाउने विषय पनि उठेको छ । तर, त्यो सम्भावना कमजोर छ । एमसीसीलाई राजनीतिक अस्त्र बनाएर शिर्ष नेताहरु शक्ति सञ्चयमा लागेका छन् । यसकारण पनि एमसीसीको हलो अड्किएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot