Logo

विराटनगर कारागारमा दुई समूहबीच भिडन्त



विराटनगर, २३ कात्तिक । कैदीबन्दीको दुई समूहबीच भिडन्तले विराटनगर कारागार तनावग्रस्त बनेको छ । चौकीदार किरण गुरुङविरुद्ध अर्को समूह आक्रमणमा उत्रिएपछि झडप भएको हो । झडपका क्रममा ५ जना घाइते भएका छन् ।

आज विहानै गुरुङ समूहलाई नयाँ खडा भएको समूहले कोठामा थुनिदिएका थिए । त्यसपछि भिडन्त भएको थियो । दुई पक्षबीच भिडन्तका क्रममा नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मोक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि कोशी अस्पताल लगिएको छ ।

गुरुङ समूहविरुद्ध विद्रोह गर्ने क्रममा १४ जना नाइके र भाइ नाइकेहरुलाई कैदीबन्दीले कोठामा थुनिदिएका थिए । त्यस क्रममा दोहोरो झडप भएको थियो ।

गुरुङ समूहका १४ जनालाई जेलबाट निकालेर अन्यत्र कारागारमा लाने तयारी भएको बुझिएको छ । उनीहरुलाई भित्र लाँदा जेलभित्र भिडन्तको खतरा बढेपछि सार्न लागिएको हो ।

विराटनगरस्थित कारागारमा किरण गुरुङ नेतृत्वको समूह हावी थियो । उक्त समूहले अभिषेक गिरीलाई डिल्लीबजारबाट लगिंदा विरोध गरेका थिए । त्यसपछि गिरीलाई सप्तरी कारागारमा लगिएको थियो ।

कारागारमा चौकीदार र नाइके बनेर समूह खडा गर्ने परिपाठीले भिडन्तका घटनाहरु हुने गरेको छ । विभिन्न समूह खडा भई भिडन्तका घटनाहरु हुने गरेको छ ।

विगतमा केन्द्रीय कारागार, नख्खु, डिल्लीबजार, वीरगञ्जलगायत ठूला जेलमा भिडन्तका घटनाहरु भएका छन् । कतिपय घटनामा ज्यान समेत गएको थियो ।-Photo Source: blastkhabar



प्रतिक्रिया दिनुहोस्