Logo

गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न



धनुषा, २३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री खाणले कोभिड(१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरि सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण तथा अनुसन्धान लगायत सुरक्षा सम्बन्धि सबै काम उत्कृष्ट रहेको बताए । नागरिकलाई सेवा प्रदान गरी राहत दिन सुरक्षा निकाय सक्रिय रहेको उल्लेख गर्दै सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील हुन सुरक्षा निकायहरुलाई उनले निर्देशन दिए ।

गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गर्दै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, गृहसचिव टेकनारायण पाण्डे र २ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद मैनालीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिए। प्रहरी संगठन र प्रहरी सेवालाई थप राम्रो बनाई संगठनलाई उचाईमा लैजान नयाँ प्रविधिको प्रयोग लगायतका प्रयास गरिएको उनले बताए ।

साथै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी पवनराज घिमिरे, गृह(मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरुबाट आ(आफ्नो क्षेत्रबाट भए गरेका सुरक्षा व्यवस्थापनका विविध विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फडिन्द्रमणी पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त गोष्ठीमा २ नम्बर प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ(आफ्नो जिल्ला अन्तर्गत शान्ति सुरक्षाको अवस्था, भौतिक श्रोतसाधन, सम्भावित सुरक्षा चुनौतीहरु एवं सुरक्षा क्षेत्रका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गरेका थिए।

गोष्ठीमा प्रदेश अन्तर्गतको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका विषयमा हालसम्म भए गरेका विभिन्न गतिविधिहरु तथा प्रदेश अन्तर्गतको विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका बिषयमा रणनीतिक योजना तय गर्न सहभागीहरुबीच छलफल तथा अन्तरक्रिया भएको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्