Logo

बेथिति र विसंगतिको विरुद्धमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले कार्तिक २६ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने



आयातित गणतन्त्रका कारण देश यो अवस्थामा पुगेको हो, यो खारेज हुनुपर्छ : अध्यक्ष तारानाथ लुईँटेल
काठमाडौं, २३ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा-२०७८ ले जनताको राजकीय सत्ता र सम्प्रभुसत्ताको प्रत्याभूति जनताले सरकार बनाउन नपाउने ? भन्दै प्रश्न उठाएको छ । मोर्चाका अध्यक्ष तारानाथ लुईटेलको नाममा जारी विज्ञप्तीमार्फत यस्तो उल्लेख गरिएको छ । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले राष्ट्रपति, संसद् र निर्वाचन आयोगको सम्पूर्ण अधिकार अदालतले प्रयोग गरेको पनि मोर्चाको ठम्याई छ । मुलुकमा विद्यमान बेथिति र विसंगतिको विरुद्धमा मोर्चाले यही कार्तिक २६ गते काठमाडौंको माईतीघरमा विशाल जनप्रदर्शन आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागी पनि मोर्चाले आम नागरिकलाई अपिल गरेको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले अहिले अदालतभित्र भैरहेको विवादलाई लिएर दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीशले राखेको बेन्च न्यायाधीशहरुले बहिष्कार गर्नु गलत भएको र यसबाट जनता ठूलो अन्यायमा परेको मोर्चाको भनाई छ । मोर्चाले नेपालको संविधान जारी गर्दा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा जनताको अभिमत नलिईएको र संविधानले देशको संस्कार, संस्कृति र धर्म–परम्परालाई आत्मसात् नगरेको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष तारानाथ लुँईटेलले देशमा आज यो अवस्था आउनुको कारण आयातित गणतन्त्र नै मुख्य कारण भएको टिप्पणी गरेका छन् । उनले भने,‘विदेशीहरुले बोकाइदिएको भारीले देशमा आज यो अवस्था आयो । परमादेशबाट सरकार बनाउनुपर्ने अवस्था आएको छ । यसको जड १२ वुँदे सम्झौता हो । जबसम्म यो खारेज हुँदैन् यो राज्य टाँट पल्टिएर जान्छ ।’

उनले प्रधानन्यायाधीशले राजीनामा दिनपर्यो भने सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क गरे । उनले अब पार्टीको झण्डा नभएर राष्ट्रको भण्डा बोकेर सडकमा आउन पनि आम जनतालाई आग्रह गरे । उनले भने,‘राजालाई राजदरबारमा पुर्याउने काम यीनै दलहरुले नै गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै मोर्चाका सह–अध्यक्ष तथा प्रवत्ता वरिष्ठ अधिवत्ता विष्णु भट्टराईले नेपाली जनताले न्याय पाउनुपर्छ भनेर आफूहरुले आवाज उठाएको सुनाए । उनले सत्तापक्षीय गठबन्धनले सरकारलाई सघाउन भन्दै हिजो गठन गरेको राजनीतिक समन्वय समितिको पनि विरोध गरे । उनले एउटा सरकार चलाउनका लागि संविधानले परिकल्पना गरेको भन्दा बाहिर गएर उच्चस्तरीय समन्वय समिति बनाईउनु गैरसंवैधानिक भएको टिप्पणी गरे । आफूहरु त्यसको विरोधमा रहेको पनि भट्टराईले जनाए ।
उनले अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्नको लागि नेपालका नेताहरुले रत्यौली खेलिरहेको पनि टिप्पणी गरे । उनले न्याय दिनेहरु कालो र सेतो पट्टीमा रमाइरहेको पनि बताए ।

त्यस्तै, संयुक्त राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजगं रायमाझीले ०६२÷६३ मा राजा र राजनीतिक दलहरुको बीचमा भएको सहमतिलाई धोका दिएर विदेशीहरुको परिचालनमा नेपालका दलहरु चलेको आरोप लगाए । उनले भने,‘दलहरुले नेपाली जनतालाई भ्रमित बनाए । यो संविधान दुनियाँको प्रजातान्त्रिक सिद्धान्त, साम्यवादी सिद्धान्त अथवा कुनैपनि सिद्धान्तसँग मेल नखाने अनौठा प्रकारको बनेको छ । यो नेपाली जनताको भावनाअनुरुप छैन् भनेर हामीले भनेका थियौं । अहिले त्यही भएको छ । नेपाल अहिले भ्रष्टाचारमा ढुबेको छ । किनभने यहाँ भातको शासन छ । जनताको एउटा साहारा भनेको न्यायापालिका थियो, तर त्यसलाई पनि अहिले विवादमा ल्याइएको छ । प्रधानन्यायाधीशसँग आफ्नो इन्ट्रेस्ट नमिलेपछि बारका वकिलहरु यो खेलमा लागेका छन् ।’

उनले न्यायापालिकामा आमूल परिवर्तनको आवश्यकत्ता पनि औंल्याए । उनले न्यायालयमा पूनःसंरचना गरिनुपर्ने बताएका हुन् । त्यस्तै, उनले वर्तमान संविधान खारेज गरेर नेपाली जनताको भावनाबमोजिमको नयाँ संविधान बनाउनुपर्ने आजको आवश्यकत्ता भएको पनि सुनाए । उनले भने,‘अब यो देशको न्यायको लागि राजासहितको राजतन्त्र ल्याउन आवश्यक छ ।’

मोर्चाका राष्ट्रिय अध्यक्ष शोभराम थापाले वर्तमान सरकारलाई भिजिलान्तेको संज्ञा दिएका छन् । उनले भने,‘भिजिलान्ते सरकारले बनाएका भिजिलान्ते न्यायाधीश र बारको भिजिजलान्ते प्रवृत्तिविरुद्ध हामी बोलेका हौं । हामी न्यायको पक्षमा छौं । हामी जनताको पक्षमा छौं । जुनबेला विदेशीहरुलाई नागरिकता बनाइदिने विधेयक ल्याइएको थियो, त्यसलाई प्रधानन्यायाधीश जबराले खारेज गरिदिएपछि यो सरकार र भिजिलान्ते गठबन्धनलाई प्रधानन्यायाधीश हाम्रो पक्षमा छैन् भन्ने लागेको हो । त्यसपछि उनीहरुले यो प्लान गरेका हुन् । क्यानटोनमेन्ट लगायतका मुद्दा उठाउछु भनेर प्रधानन्यायाधीशले उठाउने संकेत पाएपछि यी नेताहरुले यसो गरेका हुन् ।’

त्यस्तै, मोर्चाका महामन्त्री महेश बास्तोलाले अहिले मंगोल अर्गनाइजेसन लगायत अन्य विभिन्न अतिबादीले भ्रम फैलाएर हिन्दु धर्ममान्नेलाई फुटाएर राजनीति गर्न खोजेको टिप्पणी गरे । हिन्दु धर्ममा राजा भनेको विष्णुको अबतारको रुपमा लिईने गरेको सुनाउँदै यसको रक्षा गरिनुपर्ने उनको भनाई छ । उनले भने,‘अब सबै युवाहरु हिन्दुराष्ट्रको लागि एक भएर लाग्नुपर्छ ।’ जबसम्म हिन्दुराष्ट्र स्थापना हुँदैन् तबसम्म शंखघोष गरेर त्रिशुल लिएर हिँड्नुपर्ने अवस्था खट्किएको उनले सुनाए ।

मोर्चाका महामन्त्री पुष्प पराजुलीले नेपालको राजनीतिक नेतृत्व यो मुुलुकलाई असफल बनाउन लागेको गम्भीर अराोप लगाए । उनले भने,‘उनीहरुलाई सत्ता, शक्ति र सम्पत्तिबाहेक केही कुराको मतलब छैन् । जब खिलराज रेग्मीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइरहेको अवस्थामा प्रधानमन्त्री बनाइयो, हो त्यही दिनबाट सुरु भयो नेपालका राजनीतिक शक्तिहरुले न्यायालयलाई बदनाम बनाउन सुरु गरे । न्यायालयलाई न्यायको क्षेत्रभन्दा कार्यपालिकाको क्षेत्रतर्फउन्मुख बनाउनको लागि नेपालका राजनीतिक शक्तिहरुले त्यो बाटो अख्तियार गरे ।’

हिजो सुशिला कार्कीले जब शेरबहादुरले गरेका कामको बारेमा प्रश्न उठाएपछि राजनीतिक दलहरुले उनीविरुद्ध महाभियोग लगाएको पनि उनले स्मरण गराए । उनले भने,‘अहिलेका प्रधानन्यायाधीशलाई पनि विवादमा तानेर राजीनामा मागेर कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो भएको छ । संसारमा प्रधानन्यायाधीशको विरुद्ध न्यायाधीशहरु कहीँ पनि हुँदैनन् । अब नेपालको न्यायालयले राम्रो काम गर्न सक्दैन भन्ने कुरा संसारभर पुुगेको छ । त्यसैले नेपालका यी राजनीतिक नेतृत्वबाट यो मुलुक चल्दैन् भन्ने निश्कर्ष निक्लिसकेको छ । त्यसैले अब सर्वपक्षीय राष्ट्रिय सम्मेलन गरेर मुलुकलाई निकाश दिनुपर्छ ।’

मोर्चाका वरिष्ठ उपाध्यक्ष दिनेश कँडेलले न्यायालय अहिले निराशाजनक रुपमा अगाडि बढिरहेको बताए । अहिले न्यायलयभित्रका बेथितीहरु जनताले राम्रोसँग बुझेको उनको भनाई छ । उनले भने,‘नेपालमा स्वच्छ न्यायालय होस भन्ने हाम्रो धारणा हो । आज मुलुक गम्भिर समस्याबाट गुज्री रहेको छ । सरकारलाई कुनै वास्ता छैन् ।’

मोर्चाकी महिला विभागकी अध्यक्ष सावित्रा क्षेत्रीले जबसम्म महिलाहरु घरबाहिर निक्लिदैनन् तबसम्म महिलाका समस्याहरु यथावत रहने बताईन् । उनले यही कार्तिक २६ गते हुने विरोध प्रदर्शन कार्यक्रममा महिलाको सहभागिता ठुलो संख्यामा हुनुपर्ने बताईन् । महिलाहरु चुलोचौकोमा मात्र सिमित नभएर देशको लागि लड्नुपर्ने अवस्था आएकोतर्फ उनले सचेत गराईन् । उनले भनिन्–‘महिला डराए भने संसार नै डराएको ठहरिन्छ । त्यसैले अब हामीले आफ्नो आवाजलाई बुलन्द रुपमा उठाउनुपर्छ ।’

कार्यक्रममा अर्की वक्ता सीता लुइँटेलले आज प्रधानमन्त्रीले नै नियुत्ती गरेका प्रधानन्यायाधीशलाई आफ्नो भागबण्डा नपुगेर हो अथवा किन हो राजीनामा मागिएको भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘यसरी राजनीतिलाई मागिखाने भाँडो बनाइनु हुँदैन् ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बिहान गएर छठको पुजा गर्ने भनेको सुनेको उल्लेख गर्दै भनिन्–‘धर्मनिरपेक्ष राष्ट्रमा राष्ट्रपतिले किन पूजा गर्ने ? जबसम्म नेपाललाई हिन्दु राष्ट्र बनाउन सकिदैन र राजालाई ल्याएर स्थापित गर्न सकिदैन् तबसम्म हाम्रो आन्दोलन जारी हुन्छ । नेपालमा महिला राष्ट्रपति र महिला प्रधानन्यायाधीश भएको ठाउँमा महिला पछि हट्नुहुँदैन् ।’

आजको कार्यक्रमको सञ्चालन भने मोर्चाका उपाध्यक्ष श्रीराम कँडेलले गरेका हुन् । उनले बारको आन्दोलनप्रति आफ्नो असहमति जनाए । उनले बारलाई राजनीतिक दलको दलालको संज्ञा दिएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्