Logo

छठ पर्वको पूर्व सन्ध्यामा कमलपोखरीमा विशेष साजसज्जा (फोटोफिचर)



काठमाडौं, २३ कार्तिक । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि तयारी सुरु भएको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।

पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।

घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् । काठमाडौंको कमलपोखरीमा पनि विशेष तयारी गरिएको छ । उनीहरु सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।

सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् ।

यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । यो पर्वको रौनक एवं चमक हेर्न बुधबार साँझ र बिहीबार बिहान हजारौँको भीड लाग्ने गरेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्