Logo

प्रकाशमान सिंह रामचन्द्र पौडेलविरुद्ध आक्रामक



काठमाडौं, २४ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्वमहामन्त्री प्रकाशमान सिंह आक्रामक बन्दै गएका छन् । उनले पौडेल संयोजक रहेको राजनीतिक समन्वय समितिमाथि प्रश्न उठाएका छन् ।

आज गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा सिंहले राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए । समितिको संयोजकमा पौडेल छन् । उनले पछिल्लो समय सभापति शेरबहादुर देउवासँग निकटता बढाएका छन् ।

‘सरकारभन्दा माथि बनेको संयन्त्र संविधान र प्रजातन्त्र विधिविपरित हुन्छ,’ सिंहले भने, ‘सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै छैन ।’ उनले राजनीतिक समन्वय समिति संविधान अनुसार नभएको बताए ।

उच्चस्तरीय समन्वय समितिले सरकारलाई नियन्त्रणमा राख्न खोजेको टिप्प्णी गरे । सिंहले समितिमाथि प्रश्न उठाउनुलाई अर्थपूर्ण मानिएको छ ।

सिंह पछिल्लो समय देउवा र पौडेलविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले दुवै नेताबाट काँग्रेस चल्न नसक्ने बताइसकेका छन् । पौडेललाई कुनै हालतमा पार्टी सभापतिका लागि सहयोग नगर्ने स्पष्ट पारिसकेका छन् । सिंहले संस्थापन इतर समूहको नेतृत्वकर्ताका रुपमा आफूलाई उभ्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्