Logo

मापसे गरी ज्यान लिने गरी कार दुर्घटना गराएर फरार अनिश हमाल कहाँ छन् ?



नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरको हवल्दारपुरमा २१ कात्तिकको साँझ कार दुर्घटनामा बिनोद अधिकारीको मृत्यु भएको घटनामा फरार अनिश हमालको खोजी भइरहेको छ । प्रहरीका अनुसार हमाल अझै सम्पर्कमा नआएकाले खोजी भइरहेको हो ।

हमालले मादक पद्धार्थ सेवन गरी चलाएको बागमती प्रदेश ०१–०२५ च ८८३९ नम्बरका कारले ३१ वर्षीय बिनोद अधिकारीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो । तिव्र गतिमा रहेको कारमा हमालसहित उनका साथीहरु मादक पद्धार्थ सेवन गर्दै घुमिरहेको खुलेको छ ।

दुर्घटना गराएपछि हमाल सिधै नेपालगञ्ज विमानस्थल पुगेका थिए । कारको अगाडिको भागमा क्षति पुगेको देखिन्छ । कारको अवस्था हेर्दा मान्छेलाई मात्र ठक्कर दिएको नभई अन्यत्र पनि ठोक्काएको देखिन्छ । विमानस्थलमा कार भेटिएपनि अनिश हमाल भेटिएनन् । उनी विमानस्थलबाट कहाँ फरार भए भन्ने अझै खुल्न सकेको छैन ।

दुर्घटनाको भोलिपल्ट २२ कात्तिकको विहान एकजना युवक कारको चालक आफू भएको भन्दै प्रहरी कहाँ पुगेका थिए । उनीबारे अनुसन्धान गर्दा नक्कली चालक उभ्याइएको पुष्टि भएको छ । ती युवकमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएर मुद्दा दायर गर्ने भएको बुझिएको छ ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले नक्कली चालक उभ्याइएको आधारमा अनुसन्धान बढाइएको बताए । नक्कली चालक बनेर आउनेमाथि पनि कानुनी कारबाही बढाइने बताए ।

दुर्घटना गराउने अनिश हमाल बाँकेका धनाढ्य परिवारका हुन् । उनले चढेको कार महङ्गो हो । उनी फरार भई नक्कली चालक उभ्याएर घटनामा उन्मुक्ति पाउने उपाय रचेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot