Logo

प्रकाशमान सिंह काँग्रेस संस्थापनइतर समूहको नेता बन्लान् ?



काठमाडौं, २४ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशन जित्नु अघि संस्थापन इतरका नेता थिए । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । संस्थापन पक्षका नेता पौडेल नै देखिए ।

पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भए । त्यतिबेलाको संस्थापन पक्षका कृष्णप्रसाद सिटौला समेत सभापतिको उम्मेदवार बन्दा पौडेललाई धक्का लागेको थियो । पछि सिटौलाले देउवालाई भित्री रुपमा साथ दिए । त्यसपछि पौडेल संस्थापन इतर समूहका नेता बने देउवा संस्थापन पक्षमा रुपान्तरित भए ।

अहिले देउवाविरोधी समूह छिन्नभिन्न भएको छ । यसअघि पौडेल समूह भनेर चिनिने उक्त समूह विभाजित भइसकेको छ । पौडेल आफै देउवासँग नजिकिएका छन् ।
अब कोइराला परिवार र प्रकाशमान सिंहमध्ये एक संस्थापन इतर समूहको मुख्य नेता बन्ने निश्चितप्रायः छ । कोइराला समूह पनि विभाजित देखिन्छ । महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला फरक ढंगले बढिसकेका छन् । सशांक कोइराला देउवासँग नजिकिदै गएका छन् । कोइराला परिवारबाट शेखर र सुजाता कोइरालाले देउवाविरोधी समूहको नेतृत्व गर्ने सम्भावना बढेर गएको छ ।

तर, पूर्वमहामन्त्री प्रकाशमान सिंहले अलग गुट विकास गरिरहेका छन् । उनको साथमा गगन थापालगायत नेताहरु छन् । काठमाडौं उपत्यका र आसपासका जिल्ला हुँदै मधेशसम्म पकड बलियो बनाउँदै लगेका सिंह सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छन् । अब उनी नै देउवाविरोधी संस्थापन इतरको नेता बन्ने सम्भावना बढेर गएको छ । सिंहले उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग छलफल बढाइसकेका छन् । उनले पावर सेयरिङ गरेर सहमति बनाएर आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने रणनीति बनाएका छन् ।

सिंह पछिल्लो समय निकै उत्साही छन् । उनले देउवालाई हराउने क्षमता आफूसँग रहेको दाबी गर्दै आएका छन् । कोइराला परिवार र विमलेन्द्र निधिको साथ लिन प्रयासरत छन् । तर, सजिलो भने छैन । सिंहको पकड बलियो देखिएकाले देउवाको विकल्पमा उनलाई अगाडि सार्ने देउवाविरोधी समूहमा सहमति बन्ने सम्भावना पनि देखिदैछ । विगतमा काँग्रेस संसदीय दलको नेतामा देउवाविरुद्ध सिंह नै उभिएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्