Logo

दलहरुले जनतालाई दोएर खान मात्र जानेः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



ललितपुर, २४ कात्तिक । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो मात्र भएको टिप्पणी गरेका छन् । विशंखुनारायण सेवा सुधार समितिको २१ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै हरेक क्षेत्रमा निजीकरण गर्ने गतिविधि गम्भीर भएको बताए ।

‘प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो भयो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘विशंखुनारायण क्षेत्रको जङ्गल समेत लिजमा दिने भन्ने विषय गम्भीर छ ।’ उनले प्रजातन्त्रका नाममा हरेक क्षेत्रमा निजीकरणको शैलीको विरोध गर्नुपर्ने बताए ।

राजनीतिक दलहरुले जनतालाई सही नेतृत्व दिन नसकेको टिप्पणी गरे । उनले भने, ‘जनता अगाडि छन् दलहरु पछाडि छन्, दलहरुले जनतालाई दोएर खान मात्र जाने नेतृत्व दिन जानेनन् ।’

हरेक नागरिकको मन मनको भगवानलाई जगाउनुपर्नेमा जोड दिए । भगवान जगाउन नसक्दा देशमा अनेकन समस्याहरु आएको बताए । आज जुन ढंगको देशको व्यवस्था हुनुपर्ने हो छैन, श्रेष्ठले भने ।

उनले विशंखुनारायणको महत्वमाथि समेत उल्लेख गरेका थिए । विशंखुनारायण क्षेत्रमा विकासका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितपुर क्षेत्र नं १ का सांसद नवराज सुवेदीले विशंखुनारायण क्षेत्रको विकासका लागि आफूले आवश्यक भूमिका निभाइरहेको बताए । उनले विशंखुनारायण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले जिल्लाकै लागि महत्वपूर्ण भएको बताए ।

विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र बिष्टले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । बिष्टलाई अर्को कार्यकालका लागि पुनः अध्यक्ष चयन गरी आजै नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिमा कल्पना सुवेदी उपाध्यक्ष, दिवाकर सुवेदी सचिव छन् ।



प्रतिक्रिया दिनुहोस्