Logo

विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले गरे विश्वकिर्तिमान कायम



सोलुखुम्बु : २४ कात्तिक । विश्व रेडियो इतिहासमा नयाँ विश्व किर्तिमान कायम भएको छ । ‘पर्यटन प्रबर्धन र जलवायु परिवर्तनको असर’ विषयमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार एवं हिमाल एफ.एम. सोलुखुम्बुका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्का लागि दाबी पेश गरेका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको असर न्युनीकरणका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले उक्त अन्तरवार्ताको आयोजना गरिएको हिमाल एफएमले जनाएको छ ।

पर्यटन र जलवायु परिवर्तन जस्तो महत्वपूर्ण विषयमा विश्वमा सन्देश दिँदै नेपाली रेडियो प्रसारणको इतिहासमा विश्व किर्तिमान कायाम गर्ने लक्ष्य सहित आयोजना गरिएको उक्त अन्तरवार्ता कार्यक्रम पर्यटनविद् आङफिन्जो शेर्पासँग भएको थियो ।

कार्यक्रम यही कात्तिक २२ गते सोमबार विहान ७ः३५ बजे शुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९ः०२ बजेसम्म लगातार २५ घण्टा २७ मिनेट लामो अन्तरवार्ता हिमाल एफएमको काठमाण्डौस्थित स्टुडियोबाट लिइएर प्रसारण गरिएको हो ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरले खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड छ ।

अष्ट्रेलियाको उक्त २४ घण्टा लामो अन्तवार्ताको रेकर्ड पत्रकार निरौला र पर्यटनविद शेर्पाले २५ घण्टा २७ मिनेट अन्तर्वार्ता लिएको दाबी गर्दै उक्त अभिलेख गिनिज बुक अफ वल्र्ड रेकर्डमा कायम गर्नका लागि दाबी पेश गरिएको हिमाल एफएमका अध्यक्ष निमा शेर्पाले जानकारी दिऐ ।

सोलुखुम्बुका पत्रकार निरौलासँग पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ । त्यस्तै, पर्यटनविद् आङफिन्जो शेर्पाले पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्