Logo

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ (फोटोफिचर)



काठमाडौं, कार्तिक २५ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज समापन भएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । भक्तजनले बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपासना सम्पन्न गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्