Logo

मलद्वारमा लुकाएर सुन तस्करी, ट्वाइलेट गराएर निकालियो आधा किलो सुन



काठमाडौं, कार्तिक २५ । नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो । उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए ।
‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले भने ।
सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो ।
सुन निकालिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको आजको राजधानी दैनिकमा महेश्वर गौतमले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्