Logo

किराँत धर्मगुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै



पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिनुभएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घसहित विभिन्न सङ्घ संस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ । यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ । उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनबाट धार्मिक प्रवचनको कार्यक्रमसमेत राखिएको छ । जन्मजयन्तीको समारोह हुने स्थानमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाइ छ ।

विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं २ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानको रुपमा फाल्गुनन्दको जन्म भएको थियो । जन्मको नरध्वज लिङ्देन रहनुभएका उहाँ कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ । महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारकको हेर्ने गरिन्छ । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्