Logo

कांग्रेस सभापतिका १० आकांक्षी



काठमाडौं, कार्तिक २६ । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।

कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् ।

सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् । यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।

यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा। शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन ।

यसैगरी १३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले पनि यसपटक आफू टिम बनाएरै मैदानमा उत्रिने घोषणा गरिसकेका छन् । ‘म पार्टी नेतृत्वका लागि टिमसहित मैदानमा होमिने तयारीमा छु,’ सिटौलाले  भने ।

यस्तै, युवा नेता गुरुङले पनि पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउन आवश्यक रहेको भन्दै पुरानो शैलीले अब पार्टी नचल्ने र सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

महाधिवेशनमा होमिएको कांग्रेसको नेतृत्वका लागि सभापति देउवालाई आफ्नै समूहबाट अप्ठ्यारो पर्ने अवस्था बन्दै गइरहेको छ भने इतर समूहमा पनि एकले अर्कालाई स्वीकार्ने अवस्था देखिएको छैन ।

केही दिनअघि पूर्वमहामन्त्री सिंहले त देउवा र पौडेलबाट पार्टी नचल्ने र उनीहरूले पार्टीलाई नेतृत्व दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच मिलेर अघि बढ्ने विषयमा चरणबद्ध रूपमा आलोपालो गरी एकअर्काको निवासमा छलफलसमेत हुँदै आइरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्