Logo

नारायणकाजी श्रेष्ठको टिप्पणी : न्यायापालिकाको नेतृत्वले निकास दिन पहल गरोस, न्यायापालिका ध्वस्त भएको हामी हेर्दैनौं (भिडिओसहित)



काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्छु भनेर आफूहरुले नभनेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहालले पनि एमसीसी पारित गर्छौं भनेर नभनेको भनेर स्पष्ट पारिसकेको पनि सुनाए ।

उनले अध्यक्ष दाहालले पार्टीमा जानकारी नगराईकन किन अमेरिकालाई पत्र लेखेको भनेर चर्चा भैरहेको पनि सुनाए । उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे । उनले भने,‘यदि एमसीसी नेपाललाई सहयोग गर्ने उद्देश्यका साथ नै आएको हो, वा परियोजना यहाँ ल्याईएको हो भने एमसीसी सम्झौतामा राखिएका कतिपय प्रावधान सच्याउनुपर्छ भनेर किन नमान्ने ? अहिले एमसीसी स्विकार गर्न सकिने अवस्था छैन् ।’

उनले अदालतभित्रको विवाद अदालत आँफैले समाधान गर्नुपर्नेमा जोड दिए । न्यायापालिकाभित्रको समस्या समाधान गर्नेतर्फ अदालतले नै समाधान गरोस भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई रहेको स्मरण गराए । उनले न्यायापालिकाका नेतृत्वले आँफै निकास दिन पहल गर्नुपर्ने पनि बताए । तर, न्यायापालिका ध्वस्त भएको आफूहरु हेरेर नबस्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्