Logo

नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने, सीमा विवाद चर्किनसक्ने अनुमान



एजेन्सी, २६ कात्तिक । भारत र नेपालबीच सीमा विवाद चलिरहेको अवस्थामा नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने भएको छ । भारतले दाबी गरिरहेको पिथौरागढ जिल्लामा पर्ने कालापानी क्षेत्रमा नेपालले जनगणना सुरु गर्ने भएको हो । यसले दुवै देशबीचको सीमा विवाद चर्किनसक्ने भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । नेपालले एक वर्ष अगाडि जारी गरेको नयाँ नक्सामा विवादीत क्षेत्र लिपुलेख, कालापानी, लिम्पीयाधुरालाई समावेश गरको थियो ।

स्रोतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘कालापानी क्षेत्रमा रहेको गुन्जी, नाबी, कुटी गाउँको जनगणना हुने भएको छ । नेपालको केन्द्रिय तथ्यांक ब्यूरोले उक्त क्षेत्रलाई नेपालमा समावेश गरेको कारण त्यहाँ जनगणना हुनेछ । त्यस क्षेत्रमा जनगणना गर्ने थुप्रै तरिका भएपनि उक्त क्षेत्रमा टोलीले निरिक्षण गर्न सम्भावना न्यून छ । सबै सम्भावनामा, यो एक अप्रत्यक्ष जनगणना हुनेछ । जसमा प्रविधि प्रयोग गरी घरपरिवारको संख्या गणना गरिने छ ।’

उक्त क्षेत्रमा सन् २०११ सम्म भारतीय तथ्यांक विभागले जनगणना गरिरहेकोे टाइम्स अफ इन्डियाले लेखेको छ । भारतले सन् १९६१ देखि उक्त भूमि आफ्नो भन्दै दाबी गर्दै आएको छ । त्यसकारण त्यस क्षेत्रमा अहिलेसम्म नेपालले जनगणना नगरेको जनाइएको छ । गत वर्षको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उक्त क्षेत्रबाट ७४ किलोमिटरको सडक विस्तारको उद्घाटन गरको कारण त्यस क्षेत्रमा दुवै देशबीच विवाद चर्किएको थियो । अफ्नो भूमिबाट सडक विस्तार गरेको भन्दै नेपालले व्यापक विरोध जनाएको थियो । नाबी गाउँका ग्राम प्रधान सनम नबियालको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘नाबी, गुन्जी, कुटीका नागरिकहरु भारतीय हुन् । उक्त क्षेत्र भारतीय भूमि हो । नेपालले उक्त क्षेत्रमा जनगणना गर्ने कुनै अधिकार छैन् ।’-Photo Source: Times of India



प्रतिक्रिया दिनुहोस्