Logo

विद्यार्थीहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने यो मूल्यवृद्धि भोलि नै फिर्ता हुन्छ : अध्यक्ष महर्जन



काठमाडौं, २६ कार्तिक । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘ऋषिजीले आज अत्यन्तै ज्वलन्त समस्याबारे छलफलको लागि बोलाउनुभयो । मैले इन्कार गर्न सकिनँ । हामी पीडामा परेका छौं । नेपाल आयल निगमको प्रवक्ता आउने कुार गर्नुभयो, तर मेरो विचारमा आउँदैन होला । आयल निगमलाई अहिले जनतासँग फेश गर्ने अवस्था छैन् । १२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो, यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य ४ डलर घटेको छ, अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नुभयो, धेरै घाटा भयो भनेर मूल्यवृद्धि बढाईयो । यो गलत हो ।’

निगमले भारतीय बजारमा नेपाली बजारभन्दा महँगो पर्यो भनेकोबारे पनि उनले कडा आपत्ति जनाए । उनले भने,‘भारतीय बजारमा मूल्य बढ्यो अरे, के नेपाल भारतको अंग हो र ? भारतसँग मूल्य दाँज्नुको अर्थ नै छैन् । ६ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थमा लगाएको अन्तशुल्क हटाईदिए, त्यहाँ अहिले प्रति लिटर २३ रुपैयाँ घटाईयो । यता आयल निगमले चाहीँ खाली एकोहोरो रुपमा अन्तर्राष्ट्रिय भाउ बढ्यो भनेको छ । अनि खाली आयल निगम डुब्यो भनेको छ । सुब्बा, खरदारले अफिसको मोटरसाईकल चढ्छ । तर, दैनिक १०५ रुपैयाँ यातायात सुविधा पनि लिन्छ । आयल निगमको कर्मचारी त शेखहरु भएका छन्, नेपालमा शेखहरु खोज्न कहीँ जानुपर्दैन्, आयल निगम गए हुन्छ ।’

उनले निगमले तीन करोड नेपालीलाइ हैरान पार्ने काम गरेको आरोप लगाए । उनले भने,‘निगमका कर्मचारीले बोनस किन खानुपर्यो ? मोजा धुनलाई सावुनको भत्ता भनेर लिएको छ, यो भन्दा बढि के चाहिएको थियो र ? हामी सर्वसधारण उपभोक्तालाई मार नपर्नेगरि मूल्य निर्धारण गर्नुपर्छ । पेट्रोलियम पदार्थमा धेरै कर लिने गरिएको छ । यो सबै गलत छ । यी विकृतिहरु सच्याउनुपर्छ ।’

निगमलाई उनले जनतालाई हदैसम्म बेकुफ बनाउने काम नगर्न पनि चेतावनी दिएका छन् । उनले भने,‘सरकारको कूनीतिको कारण आज हामी जनता मारमा पर्नुपरेको छ । विद्यार्थी आन्दोलित हुनुभयो, यो खुशीको कुरा हो । तपाईँहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने भोलि नै मूल्यवृद्धि घट्छ।’



प्रतिक्रिया दिनुहोस्