Logo

नेपालका यी भीआइपीहरु भारतमा



काठमाडौं, २६ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण भएकै समयमा देशका अन्य शक्तिशाली व्यक्तिहरुको पनि भारत दौडाहा भएको छ । उनीहरुमध्ये केही औपचारिक निम्तोमा भारत पुगेका हुन् भने केही अनौपचारिक रुपमा भारत पुगेका छन् ।

शर्माले भारतको मानार्थ सेनाध्यक्षको उपाधि लिएका छन् । यो नेपाली सेना र भारतीय सेनाबीच परम्परागत सम्बन्धका रुपमा चलिआएको हो । दुवै देशका सेनापति एक अर्को देशका मानार्थ प्रधानसेनापति हुने प्रचलन छ ।

सेनापतिको भ्रमण अगावै केही हप्ता अघि पूर्वप्रधानसेनापतिहरु भारत भ्रमणमा गएका थिए । उनीहरुको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

 

नेपाल प्रहरीका महानीरिक्षक शैलेश थापा क्षेत्री यतिबेला भारतमा छन् । उनी सरदार बल्लभवाई पटेल राष्ट्रिय पुलिस एकेडेमीको तालिमको पास आउटमा सहभागी हुन हैदरावाद पुगेका हुन् । उक्त कार्यक्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल प्रमुख अतिथि छन् । दोभालसँग पनि थापाको भेटवार्ता भएको बुझिउको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा पनि दिल्ली निम्तो गरिएका छन् । उनलाई विवेकानन्द फाउण्डेशनले अन्र्तक्रियामा निम्तो गरेको थियो । उनले यसै हप्ता एउटा अन्र्तक्रियामा बोलेको विवेकानन्द फाउण्डेशनले जनाएको छ । अन्र्तक्रियामा विश्व खाद्य कार्यक्रमका नेपाल निर्देशक व्रिश्व पराजुलीका अलावा भारतका प्रभावशाली व्यक्तिहरु सहभागी थिए ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग नजिक रहेको विवेकानन्द फाउण्डेशनले अन्र्तक्रियाबारे उल्लेख गर्दै नेपाली काँग्रेस नेपाल भारत सम्बन्ध सुदृढ बनाउन सधै अगाडि प्रस्तुत हुँदै आएको भनेको छ ।

यसैगरी, नेपालका केही व्यापारी, राजनीतिक दलका नेताहरु पनि भारत भ्रमणमा रहेको बुझिएको छ । उनीहरुको भारत दौडाहालाई अर्थपूर्ण मानिएको छ ।

गत महिना सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल पनि भारत भ्रमण गरेर फर्किइसकेका छन् । उनी सीमा सुरक्षा समन्वय समितिको बैठकमा भाग लिएर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्