Logo

प्रधानन्यायाधीश जबरालाई बिदामा राख्ने प्रयास



काठमाडौं, २६ कात्तिक । कुनै हालतमा राजीनामा नदिने अडान कसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा राखेर निकास निकाल्न केही वरिष्ठ अधिवक्ताहरुले सुझाव दिएका छन् । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसँगको छलफलमा उनीहरुले त्यस्तो सुझाव प्रस्तुत गरेका हुन् ।

जबरालाई बिदामा राखेर संवेधानिक परिषद्सम्बन्धी नियुक्तिविरुद्ध परेको मुद्दाबारे गठित इजलासले किनारा लगाउने प्रयास विगतमा पनि भएको थियो । तर, प्रधानन्यायाधीशविना इजलास गठन हुन नसक्ने भनी गणेश रेग्मीले मुद्दा दायर गरेपछि परिस्थिति फरक बनेको हो । यसपछि मुद्दामाथि मुद्दा पर्दै अन्यौल छ ।

अहिले फेरि जबरालाई बिदा बस्न लगाएर केही मुद्दाहरु किनारा लगाउन खोजिएको बुझिएको छ । तर, जबरा राजीनामा पनि नदिने र बिदा पनि नबस्ने अडानमा रहेको बुझिएको छ ।

सर्वोच्च अदालतमा अहिले उत्पन्न परिस्थितिको कारण केही महत्वपूर्ण मुद्दाहरु नै रहेको बुझिएको छ । जसमध्ये संवैधानिक निकायको नियुक्ति, नेकपा एमालेका तत्कालीन १८ सांसदमाथि केपी शर्मा ओलीले कारबाहीसहित प्रतिनिधि सभामा पठाएको पत्र, ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा चलाउन आदेश दिन दायर रिटलगायतका विषयहरु छन् ।

मुद्दाहरुमा स्वार्थ बाँझिएपछि अदालतमा फरक परिस्थिति निर्माण भएको छ । यसमा न्यायाधीश, कानुन व्यवसायी र दलहरुनिकट कानुन व्यवसायीको संगठन नै विभाजित बनेको छ ।



प्रतिक्रिया दिनुहोस्