Logo

‘मामा मलाई नमार्नु’ भन्दा ‘खुकुरीको धारले नाता हेर्दैन’ भन्दै भूपेन्द्रमाथि नवीनद्वारा खुकुरी प्रहार



टीकापुर, २६ कात्तिक । ‘मामा मलाई नमार्नु,’ भूपेन्द्र बडुवालले हात जोड्दै विन्ती गरेका थिए । तर, कैलालीका ग्याङस्टर नन्दु भनिने नवीन रावलले छाडेनन् । ‘खुकुरीको धारले नाता भन्दैन भाञ्जा’ भन्दै नन्दुले लखेट्दै प्रहार गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार २३ कात्तिकको साँझ ९ बजे भूपेन्द्रमाथि खुकुरीसहित नवीन रावलको समूहले आक्रमण गरेको थियो । नाताले नवीन रावल भूपेन्द्र बडुवालका मामा पर्छन् । टाढाको नाताले उनीहरुबीच चिनजान पनि थियो । तर, योजनावद्ध तरिकाले डाकेर भूपेन्द्रको हत्या भएको थियो ।

भूपेन्द्रलाई आफ्नै साथी कपिल श्रेष्ठले पेट्रोलको बहानामा डाकेका थिए । दिपेश न्यौपानेलाई लिएर सुरुमा केराबारीमा पुगेका थिए । तर, असुरक्षित ठानेर फर्किएका थिए । उनलाई देखेर नवीन रावलको समूहले पिछा गरेको थियो । पछि जमरापुल सिद्धार्थ होटल नजिक रोकेका थिए । उनीमाथि आक्रमणको योजना पहिल्यै बुनिएको थियो ।

जमरापुलमा पुगेपछि नवीन रावलको समूहले कुरा गर्ने भन्दै रोकेका थिए । सिद्धार्थ होटल नजिकै भूपेन्द्रको आफन्तको घर पनि थियो । त्यहीं कुरा गर्दा गर्दै नवीनले खुकुरी निकालेका थिए । नवीन रावलसहित उनको समूहले छाति, कोखा, गर्दनलगायतका भागमा खुकुरी प्रहार गर्यो । हत्या नै गर्ने गरी आक्रमण गरेर उक्त समूह फरार भयो ।
आक्रमणका क्रममा भूपेन्द्रले गुहार मागे । तर, धेरै ढिलो भइसकेको थियो । उनी रगतमा लतपत्तिएर लडेका थिए । त्यहाँबाट उठाएर अस्पताल लगिएको थियो । अस्पताल लाँदा सम्म उनको होस थियो । प्रत्यक्षदर्शीका अनुसार उनी बोल्दै थिए । तर, विस्तारै शिथिल हुँदै गए । छटपटिदा छटपटिदै मृत्यु भयो । टीकापुर अस्पतालले उनलाई मृत घोषित गर्यो ।

कसरी भयो झगडा

भूपेन्द्र हत्या प्रकरणमा कैलालीका दुईजना ग्याङस्टरको विवाद जोडिएर आउँछ । एउटा समूहको नेतृत्व नवीर रावल र अर्को समूहको नेतृत्व जयन्द्र शाहीले गर्दै आएका छन् । दुवैलाई राजनीतिक संरक्षण पनि छ ।

नवीन रावल र जयन्द्र शाही १० वर्ष अघिसम्म मिल्ने साथी थिए । काठमाडौंमा रहँदा निकै मिल्थे । उनीहरुले आपराधिक गतिविधि गर्दै आएका थिए । पैसाको लेनदेनले दुवैबीच फाटो आयो । कैलालीमा यी दुईले फरक समूह खडा गरे ।

नवीन रावल चीसापानी र जयन्द्र शाही टीकापुर केन्द्र बनाएर गुण्डागर्दी गर्थे । यसै वर्षको तीजलगत्तै नवीनले भूपेन्द्र बडुवाल, मोहन शाही र प्रकाश रिमाललाई लम्कीस्थित झुंगा रिसोर्टमा डाकेका थिए । उनले जयन्द्रको समूहमा नबसी आफ्नो समूहमा आउन दबाब दिएका थिए । तीनैजनालाई झापड पनि लगाए । भूपेन्द्रले भने आफू कुनै समूहमा नरहेको र विदेश जान लागेको जवाफ दिएका थिए । नवीनले भूपेन्द्रसहित तीनजनालाई लम्की बोलाएर कुटपित र धम्की दिएको भन्ने खबर जयन्द्रसम्म पुगेको थियो ।

उनी लम्की पुगेर आफ्ना समूहकालाई कुटपिट गरेको भन्दै आक्रोशित भए । झुंगा रिसोर्टमा गएर सबैलाई थर्काएका थिए । यो घटनापछि नवीन रावल र जयन्द्र शाहीको समूहबीच झन् मनमुटाव भयो । उनीहरु एक अर्काको समूहमाथि आक्रमण गर्ने योजना साथ बढ्न थाले ।

भूपेन्द्र काठमाडौमा अध्ययनका क्रममा थिए । उनी अमेरिका जाने प्रक्रियामा थिए । बागबजारस्थित बिफिनिटिभ एडकेयरमा पीटीईको तयारी गर्दै थिए । बिजनेश उकाउन्टमा स्नातक पनि गरिरहेका थिए । तिहारको बिदा अगाडि उनी कैलाली पुगेका थिए । तिहारमा घर नजाऊ भनी एजुकेशन सेन्टरका शिक्षकले पनि बडुवाललाई भनेका थिए । तर, उनी तिहारलगत्तै आउँछु भनी गएका थिए । तर, फेरि काठमाडौं फर्कन पाएनन् ।

अहिले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा राजनीतिक संरक्षणको गतिविधि समेत हुन थालेको छ । नवीन रावल स्थानीय केही नेताहरुसँग निकट भएकाले उनलाई जोगाउने प्रयास हुन थालेको छ । नवीन अझै फरार छन् । उनी भारत पलायन भएको चर्चा छ । पक्राउ परेका अन्य व्यक्तिहरुलाई बचाउन स्थानीय केही नेताहरुले माथिल्लो तहसम्म शक्तिको दुरुपयोगको प्रयास थालेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्