Logo

इथियोपियाको सरकारद्धारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा



२७ कात्तिक : संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । त्यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर, शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ ।यसअघि पनि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन ।

इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरु पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।यसै हप्ताको सुरुमा ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फराह हकले शुक्रबार पनि विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघका नौ जना कर्मचारी यसअघि नै र शुक्रबार थप एकजनालाई इथियोपियाली सरकारले नियन्त्रणमा लिएको बताए ।

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ । टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । संयुक्त राष्ट्रसंघले त्यहाँ पठाएका ती सामग्री र कर्मचारीहरु सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले त्यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् ।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।-सिन्हवा/File Photo



प्रतिक्रिया दिनुहोस्