Logo

‘हाम्रो पार्टी प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन, कारबाही गरे सबै न्यायाधीशलाई गर्नुपर्छ’ : रायमाझी



काठमाडौं, २७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं । यो पाँच दलीय गठबन्धन जो छ, यो अपवित्र गठबन्धन हो । यो सरकारका समर्थक, जसले आफूलाई न्यायमूर्तिहरु ठान्नुहुन्छ, वकिल मान्नुहुन्छ, उहाँहरुले ल्याएको विषय हो । यो बीचमा यति धेरै जात्रा गरियो नेपालमा, यो दुनियाँमा नभएको, राजनीतिक रुपमा त धेरै नै एउटा दुनियाँमा नभएको नकारात्मक नजिर कायम गरिएको छ। यो परमादेशबाट सरकार बनाउने, जनादेशलाई अपमान गर्ने, जनादेशलाई कदर नगर्ने, जनादेशको विरुद्धमा परमादेशबाट सरकार बनाउने काम भयो, यो दुनियाँमा नभएको काम हो ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको गुनासो पोखे । उनले भने,‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बनाईयो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम भयो, यो संविधानविोधी काम हो । संविधानलाई धाराशयी बनाउने काम गरियो । यो बेठिक हो । पार्टी फुटाउनको लागि अध्यादेश ल्याईयो, यो दुनियाँमा नभएका काम हो । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम यो गठबन्धनको सरकारले गरेको छ । कार्यपालिकालाई पनि कुनै सिस्टममा चलाईएन । सत्तापक्षले विपक्षीविरुद्ध महागठबन्धन बनाउने जस्तो दुनियाँमा नभएको काम यहाँ नेपालमा भैरहेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे । उनले थपे–‘न्यायापालिकामाथि पनि अहिले जे/जे भैरहेको छ, चाहे त्यो परमादेशको सन्दर्भमा होस, अध्यादेशको सन्दर्भमा होस, प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरुको सहकार्य गरेर कतिपय निर्णय गरिएको छ, जसमा वकिलहरुको पनि सहमति छ । बार एशोसिएसशनका पदाधिकारीहरुको पनि सहमति छ, उनीहरुको सहमतिमा काम गरिएको छ । बदमासी, गलत निर्णयहरु गरिएको थियो । अनि प्रधानन्यायाधीशलाई मात्रै अहिले जनताबाट नाँग्गिने भईयो भनेपछि दोष चाहीँ प्रधानन्यायाधीशमाथि थुपार्ने कोशिस भैरहेको छ । यो विचित्र र विडम्बना हो । निर्णय सबै न्यायमूर्तिहरुले गरेका हुन् । सबैले राजीनामा दिनुपर्यो, सबैले कारबाही भोग्नुपर्यो ।’

उनले न्यायापालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकारको जिम्मेवारी हो । न्यायालयका कतिपय निर्णयमा हाम्रो असहमति छ, सरसर्ती हेर्दा निर्णय गर्ने सबैले जिम्मेवारी लिनुपर्छ । न्यायालयभित्रका विकृति, विसंगतिको बारेमा कुरा उठेको छ, यसमा गम्भीर अनुशन्धान गर्नुपर्छ । कारबाही सबैलाई हुनुपर्दैन ? राजीनामा सबैले दिनुपर्दैन् ? न्यायाधीशहरुले बेञ्च बहिष्कार गरेका छन्, बार पसिरमा विद्धान वकिलहरुले हातपात गर्ने, वकिलहरुले न्यायालय घेर्ने, बहस÷पैरवी बहिष्कार गर्ने, अदालत घेराबन्दी गर्ने, सेवा बन्द गराउनेजस्ता गलत काम भएका छन्, जनताका मुद्दा सुनुवाई गर्नुपर्दैन् ? एउटा प्रधानन्यायधाीशलाई कारबाही गर्दैमा समस्याको समाधान हुन्छ ? यो सरकारवादी पार्टीहरुले यो बुझ्न पर्ने कुरा हो । हामी प्रमुख प्रतिपक्षी दलको नाताले कमिकमजोरी देखाईदिने कुरा हो। ज÷जसले गलत निर्णयमा साथ थिए, जो÷जो सहभागी छन्, उनीहरु सबै कारबाहीको भागीदार हुनुपर्छ ।’

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए । उनले भने,‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होईन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन् । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ। झुण्डिएर बसिरहेको छ। हामीले त आफ्नो धारणा रोखका छौं । सरकारले कसरी विषयवस्तु ल्याउँछ ? आफ्नो धारणा ल्याओस ।’

उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरुको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने,‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ नि, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ । सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ । संसद्लाई बाईपास गरियो । न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको छ । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको छ । यो कुरा सबै घट्नाक्रमले पुष्टि गरेको छ । जति दिन बित्दै जान्छ, त्यति नै राष्ट्र र जनताले दुःख पाउने हो । अब त व्यवस्था, संविधान र प्रणाली रक्षाको जरुरी भैसक्यो ।’

नेता रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौं, विधान पनि सर्वसम्मतीले पारित गर्यौं । अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरुको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौं । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौं । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्