Logo

अदालतभित्रको विवादबारे हामी जानेर नै मौन बसेका छौं, एमसीसी पारित गर्नुपर्छ : सुमन



काठमाडौं, २७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो । सुरुदेखि नै हाम्रो लाईन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ । आस्था छ । अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन् । अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि हामी जानेर नै मौन छौं । बार एशोसिएशन विद्धानहरुको थलो हो । श्रीमानरुह पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला । तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतैपनि आफूलाई उभ्याउँदैनौं ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे । उनले भने,‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्यो भने सोचौला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं ।’ उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन नबोल्ने पनि स्पष्ट पारे । उनले थपे–‘हामी हचुवाको भरमा बोल्दैनौं ।’

त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे । उनले भने,‘यो सबैको लागि हानिकारक हुन्छ। अब जहाँसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कुरा छ, यो आयल निगमले आँफैले भाउ बढाएको हो जस्तो मलाई लाग्दैन् । अन्तर्राष्ट्रिय मूल्य बढेसँगै आयल निगमले मूल्य समायोजन गरेको हो जस्तो मलाई लाग्छ । तर पनि मूल्यवृद्धिको लागि म खेद व्यक्त गर्दछु । नेपाल सरकारले खाना पकाउने ग्याँसलगायतका अतिउपभोग्य वस्तुमा सब्सीडी दिओस । यो नेपाल सरकारले गरोस । आयल निगमले गरेर हुँदैन् ।’

उनले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई पनि आफ्नो पाटीले नजिकबाट नियाँलिरहेको सुनाए । र, आफूहरुलाई एमसीसी उचित र राम्रो लागेको सुमनको तर्क छ । उनले भने,‘हाम्रो पार्टीले एमसीसीबारे राम्रोसँग अध्ययन गरिरहेको छ। एमसीसी सरकारको विषय होईन, यो संसद्को विषय हो । प्रत्येक पार्टी र सांसदहरुको दायित्व हो । अहिले हामीले राम्ररी अध्ययन गरिरहेका छौं । हामी २४÷२५ जना सांसद छौं । पारितको गर्नको लागि त संख्या पनि चाहियो नि, हामी अध्ययनको क्रममा छौं । एमसीसी सम्झौता अध्ययन गर्दा हामीले राष्ट्रविरोधी प्रावधान हामीले अहिलेसम्म भेटेको छैन् । अमेरिकी सेना आउने जुन हल्ला चलाईएको छ, यो पनि गलत हो । नेपालले एमसीसी स्विकार गर्नुपर्छ ।’

त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए स्वागत गर्न आफूहरु आँतुर रहेको सुनाए । उनले भने,‘नेपाल–भारतबीच जनस्तरको सम्बन्ध छ । माता सीतादेखि अहिलेसम्म चल्दै आएको छ । चाडपर्व, वैवाहिक सम्बन्ध, सबै मिल्छ, यो दुनियाँकै उत्कृष्ट सम्बन्ध हो । अस्ति बेलायत भ्रमणको क्रममा हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो, त्यो भेटमा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने कुरा सुनियो, यो अत्यनै खुशीको कुरा हो । नेपाल भ्रमणमा आउँदा मोदीले राम्रा राम्रा निर्णय गर्नुभएको छ, नेपाली जनता मोदीलाई स्वागत गर्न आँतुर छन् ।’



प्रतिक्रिया दिनुहोस्