काठमाडौं, २७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए स्वागत गर्न आफूहरु आँतुर रहेको सुनाए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपाल–भारतबीच जनस्तरको सम्बन्ध छ । माता सीतादेखि अहिलेसम्म चल्दै आएको छ । चाडपर्व, वैवाहिक सम्बन्ध, सबै मिल्छ, यो दुनियाँकै उत्कृष्ट सम्बन्ध हो । अस्ति बेलायत भ्रमणको क्रममा हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो, त्यो भेटमा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने कुरा सुनियो, यो अत्यनै खुशीको कुरा हो । नेपाल भ्रमणमा आउँदा मोदीले राम्रा राम्रा निर्णय गर्नुभएको छ, नेपाली जनता मोदीलाई स्वागत गर्न आँतुर छन् ।’
सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो । सुरुदेखि नै हाम्रो लाईन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ । आस्था छ । अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन् । अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि हामी जानेर नै मौन छौं । बार एशोसिएशन विद्धानहरुको थलो हो । श्रीमानरुह पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला । तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतैपनि आफूलाई उभ्याउँदैनौं ।’
उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे । उनले भने,‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्यो भने सोचौला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं ।’ उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन नबोल्ने पनि स्पष्ट पारे । उनले थपे–‘हामी हचुवाको भरमा बोल्दैनौं ।’
त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे । उनले भने,‘यो सबैको लागि हानिकारक हुन्छ। अब जहाँसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कुरा छ, यो आयल निगमले आँफैले भाउ बढाएको हो जस्तो मलाई लाग्दैन् । अन्तर्राष्ट्रिय मूल्य बढेसँगै आयल निगमले मूल्य समायोजन गरेको हो जस्तो मलाई लाग्छ । तर पनि मूल्यवृद्धिको लागि म खेद व्यक्त गर्दछु । नेपाल सरकारले खाना पकाउने ग्याँसलगायतका अतिउपभोग्य वस्तुमा सब्सीडी दिओस । यो नेपाल सरकारले गरोस । आयल निगमले गरेर हुँदैन् ।’
उनले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई पनि आफ्नो पाटीले नजिकबाट नियाँलिरहेको सुनाए । र, आफूहरुलाई एमसीसी उचित र राम्रो लागेको सुमनको तर्क छ । उनले भने,‘हाम्रो पार्टीले एमसीसीबारे राम्रोसँग अध्ययन गरिरहेको छ। एमसीसी सरकारको विषय होईन, यो संसद्को विषय हो । प्रत्येक पार्टी र सांसदहरुको दायित्व हो । अहिले हामीले राम्ररी अध्ययन गरिरहेका छौं । हामी २४÷२५ जना सांसद छौं । पारितको गर्नको लागि त संख्या पनि चाहियो नि, हामी अध्ययनको क्रममा छौं । एमसीसी सम्झौता अध्ययन गर्दा हामीले राष्ट्रविरोधी प्रावधान हामीले अहिलेसम्म भेटेको छैन् । अमेरिकी सेना आउने जुन हल्ला चलाईएको छ, यो पनि गलत हो । नेपालले एमसीसी स्विकार गर्नुपर्छ ।’




प्रतिक्रिया