Logo

युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसद्वारा धम्की



एजेन्सी, २७ कात्तिक। बेलारुसका राष्ट्रपतिले युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । उनले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका हुन् ।बीबीसीका अनुसार अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् ।

ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो सुरक्षा कमजोर पार्न संकटलाई उक्साएको आरोप लगाएका छन् । तर, बेलारुसले भने यो आरोपलाई अस्वीकार गरेको छ । यसको बदलामा ईयूले प्रतिबन्धहरूको एउटा नयाँ प्याकेजको योजना गरिरहेको छ ।बेलारुसको लामो समयदेखिका अधिनायकवादी नेता एलेक्जेन्डर लुकाशेन्कोले बिहीबार ईयूले थप प्रतिबन्ध लगाए आफूहरूले जवाफ दिनुपर्ने बताउँदै ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

उनको भनाइले युरोपमा प्राकृतिक ग्यासको अभावबीच मूल्य वृद्धि हुने चिन्ता बढेको छ । ईयूका इकोनोमी कमिसनर पाओलो गेन्टिलोनीले यसबाट डराउनु नपर्ने बताएका छन् । तर, अक्सफोर्ड इन्स्टिट्युट फर इनर्जी स्जटिजका काट्जा याफिमाभाले लुकाशेन्कोको धम्कीलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।-बीबीसी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्