Logo

अफ्रिकाबाट विश्वकप फुटबलमा क-कस्को सम्भावना



एजेन्सी, २७ कात्तिक । अफ्रिकी महादेशबाट सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा ५ देशले स्थान पाउनेछन् । अहिले अफ्रिकी देशहरुको दोस्रो चरणको छनोट अन्तिमतिर पुग्दैछ ।

तेस्रो राउन्डमा पुग्ने १० देशबाट ५ टोली छनोट हुनेछन् । तेस्रो चरणमा पुग्न अफ्रिकी देशहरुबीच कडा भिडन्त चलिरहेको छ । अहिलेसम्म मोरक्को र सेनेगल तेस्रो चरणमा प्रवेश गरेका छन् ।

समूह ए मा अल्जेरिया र बुरकिना फासोमध्ये एक टोली छनोट हुनेछन् । नाइजर र जिबुटीको छनोटको सम्भावना समाप्त भइसकेको छ । अल्जेरिया विश्वकप खेलिसकेको देश हो । त्यसैले उसको अघिल्लो चरणको सम्भावना बलियो छ । अल्जेरिया र बुरकिना फासोबीच हुने प्रतिष्पर्धाले तेस्रो चरणमा जाने टोली पक्का गर्नेछ ।

समूह बी मा ट्युनिसिया, इक्वेटरियल गिनी र जाम्बिया तेस्रो चरणमा प्रवेशको प्रतिष्पर्धामा छन् । माउरिटानिया अघिल्लो चरणमा जानबाट रोकिइसकेको छ । अब ट्युनिसिया र इक्वेटरियल गिनीको सम्भावना बलियो छ । त्यसमा पनि एक खेल जितेमा ट्युनिसियाले अघिल्लो चरण सुनिश्चित गर्नेछ ।

समूह सी मा नाइजेरिया, क्याबो भर्डे र सेन्ट्रल अफ्रिकन रिपब्लिक अघिल्लो चरणको प्रतिष्पर्धामा छन् । लाइबेरियाको सम्भावना समाप्त भइसकेको छ । नाइजेरियाको सम्भावना बलियो छ । उसलाई क्याबो भर्डेको चुनौती छ ।

समूह डीको प्रतिष्पर्धा रोमाञ्चक बनेको छ । यो समूहबाट विश्वकप खेलिसकेका आइभोरि कोष्ट र क्यामरुनमध्ये एउटा टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । सम्भवत क्यामरुनको घरेलु मैदानमा हुने यी दुई देशबीचको प्रतिष्पर्धाले तेस्रो चरणमा पुग्ने देशको टुंगो लगाउनेछ । विश्वकप खेलिसकेका दुई देशले समूह चरणको दुई खेल खेल्न बाँकी हुँदा आइभोरी कोष्ट १० र क्यामरुन ९ अंकका साथ कडा प्रतिष्पर्धामा छन् ।

समूह ई मा माली र युगान्डाको मात्र तेस्रो चरणमा प्रवेशको सम्भावना छ । बाँकी रहेको दुई म्याच निकै महत्वपूर्ण छ ।

ग्रुप एफबाट इजिप्ट, लिबिया र गाबोनको तेस्रो चरणको सम्भावना छ । एंगोलना बाहिरिइसकेको छ । इजिप्टले एक खेल जितेमा तेस्रो चरण प्रवेश गर्नेछ । विश्वकप खेलिसकेको इजिप्ट बलियो टोली हो ।

समूह जी मा विश्वकप खेलिसकेका दक्षिण अफ्रिका र घाना प्रतिष्पर्धामा छन् । विश्वकप खेलिसकेका यी दुई देशबीच हुने अन्तिम प्रतिष्पर्धाले मात्र तेस्रो चरणको प्रतिष्पर्धामा छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

समूह एच मा सेनेगल तेस्रो चरणमा प्रवेश गरिसकेको छ । समूह आईमा मोरक्को पनि तेस्रो चरणमा छनोट भइसकेको छ । ग्रुप जेमा तान्जानिया, बेनिन, कन्गो र माडागास्कर चारवटैको अघिल्लो चरणको सम्भावना जिवित छ । तर, तान्जानिया र बेनिनमध्ये एक टोलीको सम्भावना बलियो देखिएको छ ।

अब १० समूहका विजेता टोलीहरुबीच गोलाप्रथा हुनेछ । कुन टोलीले कुनसँग प्रतिष्पर्धा गर्ने तय हुनेछ । यसैका आधारमा दुई लेगको प्र्रतिष्पर्धाबाट पाँच टोली कतार विश्वकपमा छनोट हुनेछन् ।

दोस्रो चरणको प्रतिष्पर्धालाई केलाउँदा अफ्रिकाबाट मोरक्को, सेनेगल, इजिप्ट, आइभोरी कोष्ट, क्यामरुन, नाइजेरिया, ट्युनिसिया, दक्षिण अफ्रिका र घानाको सम्भावना बलियो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्