Logo

गहुँ छर्ने सिजनमा रित्तिँदै सरकारी कम्पनीको मल भण्डार



काठमाडौं, कार्तिक २८। गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून छ ।

कर्पोरेशनसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग करीब साढे १५ हजार मेट्रिकटन मात्र मलको मौज्दात छ । गहुँबालीका लागि किसानलाई डीएपी मलको आवश्यकता पर्छ । तर, कृषि सामग्रीसँग ३ सय मेट्रिकटन मात्रै डीएपी मल मौज्दात छ भने युरिया मल पनि १५ हजार मेट्रिकटन मात्रै मौज्दात रहको बताइएको छ ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले मलको भण्डारण रित्तिने क्रममा भए पनि मल बाटोमा आउने क्रममा रहेकाले अभाव हुन नदिने प्रयास भइरहेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको २५ हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी बाटोमा आयातको क्रममा रहेको छ । सरकारी कम्पनीसँग मलको मौज्दात रित्तिने क्रममा भएपछि किसानलाई मलको अभाव भोग्नु परिरहेको छ । धानबाली भित्र्याएर गहुँ छर्ने चटारोमा रहेका किसान मल नपाएर छटपटाइरहेका छन् ।

विशेषगरी यतिबेला तराईका जिल्लामा गहुँ छर्ने काम धमाधम शुरू भइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्