Logo

नेपालबाट भारततर्फ इन्धन तस्करी



काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो ।

सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको तुलनामा नेपाली बजारमा अहिले पेट्रोल प्रतिलिटर ३७ रुपियाँ ५३ पैसा, डिजेल प्रतिलिटर ३० रुपियाँ ६५ पैसा सस्तो रहेको छ ।

त्यस्तै हवाई इन्धन र एलपी ग्यास पनि भारतमा भन्दा नेपालमा सस्तो छ । तर, पेट्रोल र डिजेलको तस्करी हुने गरेको नेपाल आयल निगमले स्वीकार गरेको छ । सीमावर्ती क्षेत्रमा नेपालबाट इन्धन खरिद गरी भारतमा लगेर बिक्री गर्दै आएका छन् ।

नाकाबन्दीका बेला भारतबाट इन्धन खरिद गरी नेपालमा बिक्री गरेजस्तै तरिकाबाट इन्धनको तस्करी हुने गरेको स्थानीयको भनाइ छ । एकैपटक ठूलो परिमाणमा इन्धन भारत तस्करी नभए पनि सानो–सानो परिमाणमा धेरै जनाले इन्धन तस्करी गर्दा नेपालमा नोक्सानी बढेको हो ।

तस्करीका कारण नेपाली बजारको मागभन्दा कयौं गुणा बढी इन्धनको आयात भइरहेकाले तस्करी नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड छ । निगमले भारतमा महँगो मूल्यमा इन्धन खरिद गरी नेपालमा सस्तो मूल्यमा बिक्री गर्र्र्दै आएको छ ।

नेपालबाट भारत जाने गाडीले फुल ट्याङकी इन्धन भरेर सीमा पारी जाने र उता गएर इन्धन निकाल्ने एकथरी रहेका छन् भने अर्कोतिर कृषि प्रयोजनका लागि भन्दै ड्रममा इन्धन भर्ने र सीमा पारी लगेर बिक्री गर्ने गिरोह पनि सक्रिय रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्