Logo

इक्वेडरको कारागारमा पुनः भड्किएको हिंसा, ६८ को मृत्यु



एजेन्सी, २८ कात्तिक। इक्वेडरको एक कारागारभित्र भएको झगडामा कम्तीमा ६८ जना कैदीको मृत्यु भएको छ । लिटोरल पेनीटेन्टीयरीभित्र गएको सेप्टेम्बरमा पनि झगडा हुँदा १०० भन्दा बढी कैदीको मृत्यु भएको थियो। उक्त कारागारमा पुनः झडप भने शुक्रबार साँझ सुरु भएको र कारागारभित्र प्रवेश गरेको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको विवरणहरू सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ।सेप्टेम्बरमा भएको दुई समूहबीचको घटना भने त्यहाँको इतिहासमै सबैभन्दा हिंसक हो। त्यस बेला कारागारको एउटा क्षेत्रमा रहेका कैदीहरू सुरुङबाट अर्को क्षेत्रमा प्रवेश गरी विरोधी समूहका कैदीमाथि आक्रमण गरेका थिए। त्यहाँको स्थिति नियन्त्रण गर्न सयौँ सुरक्षा अधिकारीहरू र सैनिकहरू तैनाथ गरिएका थिए।

अहिलेको झगडामा २५ जना घाइते भएका छन्। हालैका दिनहरूमा सो कारागारभित्र ससाना झैझगडा भएको र तीन कैदीको गोली हानी हत्या गरिएको थियो। शनिवार पनि त्यहाँ झगडा कायम रहेपछि कारागार बाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट सुरक्षित गरिएको बताइएको छ। कारागारबाहिर टाँसिएको मृतकहरूको सूची हेर्न कैदीका परिवार र साथीसम्बन्धी जम्मा भएका थिए।

अधिकारीहरूका अनुसार एक समूहका नाइके रिहा भए पछि उत्पन्न क्षेत्रसम्बन्धी विवादका कारण झगडा सुरु भएको थियो। “कारागारको एउटा क्षेत्र नाइकेविहीन बनेपछि अन्य समूहहरूले प्रवेश गरेर आमहत्या गरे,” कारागार रहेका प्रान्तका गभर्नर पाब्लो अरोसेमेनाले भने। हिंसा भड्किएको कारागार क्षेत्रमा ७०० कैदी रहेको उनले बताए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्